एनआरएनए युकेको कार्यक्रममा भरतपुरकी मेयर रेणु दाहाल पनि आउने

लण्डन । प्रेम गाहामगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल पनि सहभागी हुनुहुने भएको छ ।

अध्यक्ष गाहामगरका अनुसार दाहाल सो कार्यक्रमको विशेष अतिथि रहनुहुनेछ ।

सो कार्यक्रममा उपसभामुख ईन्दिरा रानामगर प्रमुख अतिथि रहनुभएको छ ।

इन्टरन्याशनल मेयर अवार्ड थाप्न बेलायतमा आउन लागेकी दाहाल पहिलोपटक बेलायतका नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लागेकी हुन् । यसअघि पनि नीजी भ्रमणमा बेलायत आउनुभए पनि दाहाल नेपाली समुदायले आयोजना गरेको कुनै कार्यक्रममा सहभागी हुनुभएको थिएन ।

भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहनुभएकी दाहाललाई आफ्नो महानगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माणका लागि सबैले सराहना गर्ने गरेका छन् । विवाद र चर्चा परिचर्चाभन्दा टाढै बसेर खुसुखुसु काम गर्ने दाहाललाई शुरुमा धेरैले प्रधानमन्त्री प्रचण्डको छोरी मात्र भनेर चिन्ने गरेकोमा उनको नेतृत्वमा भरतपुर महानगरले गरेको विकास देखेर मानिसहरू उनीप्रतिको बुझाइ नै फेरिएको मान्दछन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी उपसभामुख इन्दिरा रानामगर पनि लामो समयदेखि नेपालमा सामाजिक कार्यमा संलग्न हुनुहुन्छ । हालमा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुंदै उपसभामुख बने पनि उनी आफैँ लामो संघर्षबाट देशविदेशमा चिनिएकी व्यक्तित्व हुन् ।

झापामा जन्मिएकी उनी पहिलो राजनीतिमा आउनुअघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष थिइन् । उक्त संस्थाले जेल सजायँ भोगिरहेका महिलाका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिका लागि काम गरिरहेको छ।

उक्त योगदानका लागि बीबीसीले रानालाई सन् २०१७ मा बीबीसी १०० वुमन अर्थात् सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरूको सूचीमा राखेको थियो।

तीन दशकदेखि उक्त काममा संलग्न रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्दार गरिएको बताउँदै आएकी छिन्।

कोभिड महामारीका बेला उनले कैयौँ दिन आम्दानीको अभावमा भोका परेका सयौँ मानिसलाई खानाको व्यवस्था गरेकी थिइन्।

च्यारिटी काम गरेर रानामगर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भइसकेकी छन् । सन् २००९ मा उनले ‘एसिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड’ र सन् २०१४ मा स्वीडेनकी रानी सिल्भियाबाट विश्व बाल मानार्थ पुरस्कार समेत पाइन् । सन् २०१४ मा विश्व बाल पुरस्कारका लागि उनी मनोनित भएकी थिइन् ।

कार्यक्रम बेलायतका करिब ६० वटा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले भाग लिने बताइएको छ । कार्यक्रममा नेपाली नागरिकताको निरन्तरताका लागि नेपाल सरकारसमक्ष गरिने विभिन्न दबाबमूलक कार्यक्रमका बारेमा पनि छलफल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री