
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराउनभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो ।
उहाँको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन हुनुहुन्छ ।
विसं २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उहाँले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गर्नु भएको थियो । उहाँ विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गर्नुभएको थियो । हाल उहाँ एमालेको स्थायी समिति सदस्य हुनुहुन्छ ।
यस्तै, नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले पनि सभामुख पदका लागि आजै मनोनयन दर्ता गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो ।
उहाँको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला हुनुहुन्छ । उहाँको जन्म २०१६ सालमा दाङमा भएको थियो । उहाँ समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुनुभएको हो ।
न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहनुभएको छ । उहाँ २०६४ र २०७० सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो । तत्कालीन व्यवस्थापिका–संसद्मा उहाँ पार्टीको सचेतक हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गुर्नभएका उहाँ नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्ष भइसक्नुभएको छ ।
आज अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४:१५ बजे प्रकाशित गरिने छ ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ