
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो ।
जापानी सम्राट मेइजीले सुरु गर्नुभएको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गर्नुभयो । विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो ।
वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि विभूषित गरिएको हो ।
वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहनुभएको थियो । उहाँ सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्धनमा पनि सक्रियरूपमा संलग्न हुनुहुन्थ्यो ।
विभूषितपछि वरिष्ठ नेता पौडेलले उच्च सम्मानका लागि जापानी सम्राट, सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापानले नेपालको विकास निर्माण, कृषि, विपद् व्यवस्थापन, प्रविधि, लोकतन्त्र संस्थागतलगायत क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप निरन्तरताको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ नेता पौडेललाई उच्च सम्मान गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन योगदान पुग्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले आफ्नो लामो राजनीतिक जीवनकालमा सांसद, मन्त्री, सभामुखलगायत हैसियतमा देशलाई गर्नुभएको योगदान स्मरण गर्दै मन्त्री कार्कीले उहाँले सभामुखका रूपमा सन् १९९९ मा जापान–नेपालमैत्री संसदीय लिगको स्थापना गरी निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाले सरकार तहदेखि संसदीय तह र जनताको तहसम्म द्विपक्षीय सम्बन्ध विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो ।
साथै उहाँले सामाजिक, आर्थिक र पूर्वाधार क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गरेकामा जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेसका नेता, सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्रीलगायत विशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ