नेपालमा उद्यमको उत्कृष्ट अवधारणा ल्याउनेलाई लगानीको वातावरण

काठमाडौँ । ‘सोचदेखि उद्योगसम्म’नाराका साथ उद्यमको दृष्टिकोण राख्ने व्यक्तिलाई आइडिया स्टुडियोले लगानीको वातावरण बनाइदिने भएको छ । आइडिया स्टुडियोले यसका लागि उद्यमको सोच ल्याउन आजदेखि सिजन ७ सुरु गरेको छ । यसका लागि स्टुडियोको वेबसाइटमा गएर फर्म भर्न सकिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आजदेखि पुस मसान्तसम्म फर्म भर्न सकिने जनाइएको छ । आइडिया स्टुडियोको सिजन ६ सम्म तीन हजार उद्यमका सोच आएको कार्यकारी अध्यक्ष छिरिङ लामाले बताउनुभयो ।
“तीन हजार सोचमध्येबाट आठसयलाई मार्ग निर्देश गरिएको छ, तीमध्ये धेरैले अहिले स्वरोजगार गरी १० जनादेखि दुईसय जनासम्मलाई रोजगारी दिएका छन्, यी उद्योगमा रु पाँच लाखदेखि रु १३ करोडसम्मको लगानी छ, यसका लागि हामीले गैर नाफामूलक कम्पनीका रुपमा काम गरेका छौँ”, उहाँले भन्नुभयो ।
स्टुडियोले ज्ञानका लागि राष्ट्रिय केन्द्र स्थापनाको पहल गरेको जनाइएको छ । गैर नाफामूलक कम्पनीका रुपमा स्थापना भएको स्टुडियोले गत वर्षदेखि ‘सोचदेखि उद्योगसम्म’ कार्यक्रमका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य सुरु गरेको छ । मन्त्रालयसँगको सहकार्यमा प्रतिभा कार्यक्रम सुरु गरिएको कार्यकारी अध्यक्ष लामाले सुनाउनुभयो ।
उद्यमी बन्न चाहनेका लागि स्टुडियोलाई राजमार्गका रुपमा स्थापित गरी गन्तव्यमा जान चाहने सबैलाई पठाउने नीति लिएको पनि उहाँले बताउनुभयो । उद्यम गर्न चाहनेका लागि ज्ञान र सीपमा सहयोग गरिने स्टुडियोले जनाएको छ । कार्यक्रमका लागि जापानसँग पनि समझदारी गर्न लागिएको छ । यसका लागि १५ दिनमा जापानी प्रतिनिधिमण्डल नेपाल आउने भएको छ ।
स्टुडियोका सञ्चालक सुरेश सिम्खडाले सातौँ सिजनका लागि सबैले आइडिया पठाउन सक्ने बताउनुभयो । उद्यमशीलतामा लाग्न चाहनेका लागि तीनै तहका सरकारले सहयोगको वातावरण बनाइने भनाई पनि उहाँको थियो । स्टुडियोका अर्का सञ्चालक माल्भिका सुब्बाले गत वर्षमात्र उद्यम गर्न चाहने आठ सय ३३ जनाको सोच आएको जानकारी गराउनुभयो । उद्यमका सोचलाई मूर्तरुप दिन प्रेरणा गरिएको पनि उहाँले सुनाउनुभयो । उद्यमको सोच ल्याउनेलाई वातावरण मैत्री भएर काम गर्न विश्व वन्यजन्तु कोषले प्राविधिक सहयोग गरिरहेको डा घनश्याम गुरुङले बताउनुभयो । उद्यम क्षेत्रका दिगो विकासका लागि पनि वातावरण मैत्री भएर काम गर्न प्रेरित गरिएको उहाँले सुनाउनुभयो ।
गत वर्ष आएका आठसय ३३ उद्यमका सोचमध्येबाट उत्कृष्टलाई स्पेस ४ के टेलिभिजनबाट यसै हप्तादेखि कार्यक्रम देखाउन लागिएको जनाइएको छ । सकारात्मक सोचकासाथ टेलिभिजनले यो कार्यक्रम चलाउन लागेको प्रबन्ध निर्देशक प्रभात चलाउनेले बताउनुभयो । सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवालीले सोचदेखि सुशासनसम्म नाममा मन्त्रालयले स्टुडियोसँग सहकार्य गरेको जानकारी दिनुभयो । कार्यक्रममा काठमाडौँ मोडेल कलेजका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदी, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमका सञ्जीव सुब्बालगायतले उद्यमशीलताको विकासमा स्टुडियोका कार्यक्रमले सहयोग गर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री