किरात याक्थुङ चुम्लुङ यूके बेलायतबासी याक्थुङ समुदायको प्रतिनिधिमूलक संस्था हो । यो संस्था याक्थुङ मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षरण र सम्बर्धन तथा समस्या पर्दा आपसमा सहयोग आदानप्रदान गर्न सन् २००३ बेलायतको सल्सबरीमा स्थापना भएको थियो । चुम्लुङको संस्थापक अध्यक्ष खड्कजंग आङबुहाङ हुन् । दुई हजारभन्दा धेरै सदस्य रहेको संस्थाको भर्खरै दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
लिम्बुवानको विभिन्न थुमबाट बसाइँ सरी यूकेमा बसोबास गरेका ‘हामी सबै याक्थुङ हौँ’ भन्ने मनोविज्ञानको विकासबाहेक यो संस्थाले खासै उपलब्धी गर्न सकेन ।
आपदविपदमा सरसहयोग, चुम्लुङदेन खरिद, सामाजिक र केही सांस्कृतिक भेलाहरुमा पूजाआजाबाहेक संस्थाको उद्देश्यअनुरुप कुनै ठोस कार्यक्रमहरु छैनन् । संस्थाले यलम्बरहाङ कप र सिसेक्पा तङनाममा पाहुना बोलाएर भाषण र भोजमा मात्र आफ्नो सम्पूर्ण शक्ति र स्रोत प्रयोग गरिरहेको अवस्था छ । याक्थुङ समुदायको प्राथमिकतामा पर्ने भाषा, लिपि, संस्कृतिजस्ता विषयहरुमा संस्थासँग रचनात्मक दृष्टिकोण र ठोस कार्यक्रम छैन । चरम गुटवन्दीमा फसेका कारण संस्थागत विकास गर्न नसकेको चुम्लुङको कुरुप अनुहार हेर्दा आफैँलाई लाज लागेर आउँछ ।
संस्थागत विकास र नैतिक आचरण
पूर्व अध्यक्षहरुसँग आफ्ना उपलब्धिका लामै सूची होलान् तर तथ्यहरुले त्यस्तो देखाउँदैन । खासगरी चुम्लुङमा संस्थागत विकासले गति लिन सकेको छैन । संस्थाका निर्णायक पदमा पुगेकाहरुसमेत पदीय जिम्मेवारी, काम, कर्तव्य, मान मर्यादा, अधिकार बुझेका छैनन् वा बुझेर पनि उल्टो काम गरिन्छ । यूके चुम्लुङको विगत दुई दशकको इतिहासमा पटक-पटक विधि, विधान, आचारसंहिता वेवास्ता गरिएका अनेकौं दृष्टान्तहरु छन् ।
हरेक अधिवेशनपछि पदमा आउनासाथ आफूलाई मन नपर्नेको अधिकार काट्ने वा विभाग हटाउने भष्मासूर प्रवृत्ति बढ्दो छ । विचार नमिल्नेको अस्तित्व नै नामेट पार्न र आफू खुशी विधान संशोधन गर्ने फाँसीवादी चरित्र नेतृत्वमा हाबी भएको छ । वर्तमान महासचिव नै फरक मत राख्ने सदस्यलाई उसको सदस्यता शुल्क लिएर संस्थाबाट बाहिरन निर्देशन जारी गर्छन् । नेतृत्वको कतिपय चरित्रहरु याक्थुङ संस्कृति, सभ्यता, संस्कारसँग मेल नखाने एवम् सभ्य समाजले स्वीकार गर्न नसकिने जंगली युग ब्यूँझाउने प्रवृतिका छन् ।
संस्था गतिशीलताका लागि नैतिक आचरण, विधि र विधान यसका प्रमुख अंग हुन् । चुम्लुङ नेतृत्वमा रहेका र गरिसकेका केही जिम्मेवार व्यक्तिहरु नै संविधान नभएको बेलायतमा विधान जरुरी छैन भनेर काँचो तर्क गर्छन् । यो देशमा एउटा सानो कामको योजना बनाउनु पर्यो वा सानो गल्ती गरे हामीले सपनामा नसोचेका यति धेरै ऐन कानुन, नियम, विनियम, विधान, नियमावली, कार्यविधि आकर्षित हुन्छन् भनेर तिनीहरुले सोचेका छैनन् । समुन्नत समाज निर्माणका लागि संस्थालाई विधान अपरिहार्य छ ।
विधान पछि अर्को महत्वपूर्ण पक्ष आउँछ नैतिक आचरण । यो कागजमा लेखिएका बन्धनकारी नियम नभएर विवेकले प्रयोग गरिने निश्चित सामाजिक पद्धति वा विधि हो । सबै मान्छे नैतिकवान छन् भने विधान आवश्यक छैन पनि । चुम्लुङका अगुवाहरुमा नैतिक आचरण, विधि र संस्थागत अनुसाशनहीनता कारण सिंगो याक्थुङ समाज विखण्डनतिर उन्मूख छ ।
सभ्य समाज निर्माण गर्न विधि र विधानभन्दा ठूलो व्यक्तिमा अन्तरनिहित लाजले महत्वपूर्ण भूमिका खेल्छ । चराचर, जगत, प्रकृति, मान्छे हामी सबै नांगै छौं । चेतनाको भ्रूणमा लाज जन्मन्छ र त्यही लाजले जीवनका मूल्य खोज्छन् । चेतनाले काम गर्न थालेपछि मात्र लाज बोध हुन्छ र जहाँ लाज लाग्छ त्यहाँ ढाक्नुतिर लाग्छौं । पाषण युगमा हाम्रा पुर्खाहरु जनवारसरह नांगै हिँड्थे, किनकि उनीहरुमा चेतना थिएन । आज पनि लाज नहुने मान्छेहरु समाजमा नांगै हिँडिरहेका छन् । यसै प्रसंगमा चुम्लुङको नेतृत्व गरिसकेको एकजना मुर्धन्य व्यक्तिले “२१ औं शताब्दीमा आचारसंहिता विपरित काम गर्न सामान्य भएको’ सगौरव विचार राखे । कमसेकम जनवारसँग सानो लाज छोपी दिने पुच्छरसम्म छ । तर हाम्रो चुम्लुङगेहरुसँग आधा लाज छोप्ने त्यो पुच्छर पनि रहेन ।
समग्रमा संस्थागत विकास हुनु भनेको संस्था संचालनका लागि लेखिएका विधान, विनियम, नियमावलीअनुसार चल्नु हो । विधानमा छुटिएका धैरै विषयहरु हुन्छन् र यस्तो अवस्थामा आफ्ना विवेक प्रयोग गरिन्छ । बिना लाज सरम प्रयोग गरिने विवेकले संस्थाको विकास गर्दैन र यो नैतिक आचरण स्खलनको पराकाष्टा हो । नैतिक आचरण, विधि र विधान पदमा बस्ने र अन्य सबै सदस्यहरुले मान्नु पर्छ ।
अकर्मण्यताका श्रृङ्खलाहरु
चुम्लुङमा अकर्मण्यताका अनेकौं श्रृङ्खलाहरु छन् । पछिल्ला केही महाधिवेशन र हरेक बैठकमा संस्थागत मान्यता विपरीत एकलौटी र अप्रिय निर्णय भएका छन् ।
आठौं महाधिवेशनमा विधानविपरित गैरसदस्य र हलमा भेला भएका गैरलिम्बू सबैले मतदान गरे । किनकि त्यहाँ आफ्नो मान्छे जिताउन विधि विधान मिच्नेहरुको नांगो बजार लागेको थियो ।
विधानमा कतै नभएको कथित सहमतिको नाममा दुई गुटका अध्यक्षले एक–एक वर्ष नेतृत्व गर्ने अर्को नांगो नाच नवौं अधिवेशनमा देखियो । सोही दिन महासचिवमा दुईजनाकोे उमेद्वारी पर्यो । अन्तमा एकले तुरन्तै पद लिने र दोस्रोले अर्को महाधिवेशनमा उपाध्यक्ष पद सुरक्षित गरेको बैना गरियो । एक कार्यकाल अघि संस्थाको महत्वपूर्ण पद खरिदको घीनलाग्दो परिदृष्य चुम्लुङमा देखियो । विधि विधानविपरित पहिल्यै सुरक्षित गरेको उपाध्यक्ष अर्कोलाई बेचेर तिनै पात्र अन्ततः एउटा प्यानलमा गएर शक्तिशाली पद महासचिव हत्याउन सफल भए ।
दशौं राष्ट्रिय महाधिवेशनमा त झन नेतृत्व हत्याउन संस्थाको भए भरको स्रोत साधन दुरुपयोग गरी हाक्काहाक्की प्यानलको मतपत्र नमुनामा (नाम, पद, फोटो) टाँसेर विधानको निर्ममतापूर्व हत्या गरियो । प्यानलमा सदस्य बढाउन आफैँ शुल्क तिरी दिने, बस रिजर्भ र सिंगै बंगुरको व्यवस्थाजस्ता घृणित र फोहोरी परिदृश्यहरु सार्वजानिक भएका छन् । हाम्रा मान्छेहरु दुई चोक्टा फाक्सा, एक गिलास रक्सी र केही दश पाउण्डमा विक्री भए । दुई उपाध्यक्ष उमेद्वारका मत बराबरी हुँदा गोलाप्रथा वा पुन: निर्वाचन गर्ने सामान्य परम्परालाई तोडेर दुवैले बाँडीचुडी पद ग्रहण लिने घीनलाग्दो दृश्य यही अधिवेशनमा देखियो ।
निर्वाचनसम्बन्धी नियमावली २०२० अनुसूची १ निर्वाचन आचारसंहिता दफा ४ मा “प्यानल घोषणा गरी निर्वाचनमा भाग लिन पाइने छैन” भनिएको छ । यस्तै परिच्छेद ४, दफा ६. सदस्यहरुको अधिकार एवं कर्तव्य र सदस्यताको समाप्तिमा आचारसंहिता मान्नुपर्ने कर्तव्य र सोही परिच्छेदको उपदफा ६.६ः “विधानको धारा ६.२ बमोजिम आफ्नो कर्तव्यको पालना नगर्ने कुनै पनि सदस्यको (साधारण, आजीवन, संरक्षक र मानार्थ) सदस्यतालाई किरात याक्थुङ चुम्लुङ यूकेले खारेज गर्न सक्नेछ ।
हाम्रो मान्छेलाई सरम लाग्ने दिन कहिले आउला ? नांगो रुपमा प्यानल बनाएर चुनाव लड्नेहरुले विधान उल्लङ्घन गरेका छन् । यस्तो अवस्थामा उनीहरुको सदस्यतासमेत खारेज हुनुपर्ने विधानमा स्पस्ट छ ।
सल्लाहकार नै गुटबन्दीका मतियार
गुटगत नेतृत्वको चरित्रले चुम्लुङ फुट्दैन भन्न सकिन्न । ग्रेटर लण्डनको अवधारणा यस्तै गुटबाट जन्मेका अवैध सन्तान हुन् र यसका मतियार सल्लाहकार थिए ।
सामन्य घटनाले देश, राजनीतिक दल, संघसंस्थादेखि वंश नै विभाजन भएका प्रशस्तै उदाहरण छन् । हाम्रो नजिक कै किरात राई यायोक्खा चुल्हो राख्ने विवादमा दुई वटा समानान्तर संस्थाहरु क्रियाशील छन् ।
चरम गुटवन्दीमा फसेको चुम्लुङमा विधि विधानको मर्म विपरीत निर्वाचित वर्तमान नेतृत्वले आफूलाई मत नदिने पक्षहरुको अस्तित्व नै स्वीकारेका छैनन् । केन्द्रीय कार्यसमिति बैठक छलेर एउटा गुटले आफू खुशी विधान संसोधन प्रस्ताव मस्यौंदा गर्न जिम्मेवारी दिएको छ । केन्द्रीय कार्यसमितिका सदस्यलाई थाहा नपाई सुटुक्कै एकपक्षीय सल्लाहकार चयन गरेका हल्लाहरु पनि छन् । विधानले विधान मस्यौदा समितिलाई चिन्दैन न त सल्लाहकार । त्यसैले पछिल्लो दशौं महाधिवेशनबाट आएका नेतृत्व त झन् निकम्मा ठहरिएका छन् ।
सातौं अधिवेशनदेखि संस्थाको मतियारको काम आजीवन सल्लाहकारले निरन्तर गर्दै आएका छन् । उनीहरुबाट आफ्नो पक्षका उमेदवार बनाउने, ज्वाई, छोरी, सालो, भान्जालाई पुरस्कारको लागि खुलेर लविङ गर्ने घृणित काम निरन्तर दोहोरिएका छन् । परम्परागत तुम्याहाङ प्रणालीको रुप सल्लाहकार मानिन्छ । सल्लाहकार कार्यकारी पद होइन र एउटै व्यक्तिलाई पटक पटक दोहोर्याउन हुँदैन । निश्चितरुपमा चुम्लुङका पूर्व अध्यक्ष वा समाजमा लामो काम गरेका व्यक्तिहरुसँग आम सदस्यहरु भन्दा धेरै अनुभव हुन्छ नै । तर एउटै मान्छे पटक–पटक सोही पदमा बसेपछि व्यक्तिको महत्वकांक्षा बढ्दै जान्छ । संस्थाभित्र विस्तारै चलखेल सुरु भयो । अनुभवले गर्दा उसलाई संस्थाको सबै नालीबेली थाहा हुन्छ । र, आफ्नो इच्छाअनुसार संस्थालाई नियन्त्रणमा लिन अनेक षड्यन्त्र गर्न थाल्छ ।
एक व्यक्ति एक पटक मात्र सल्लाहकार हुने र लिम्बूहरुको उद्गमस्थल ताप्लेजुङ, पानथर, इलाम, तेह्रथुम, धनकुटा र संखुवासभा, महिला, येवा फेदाङमा, सेवासावा एक समावेसी सल्लाहकार सबै क्षेत्र, लिंग र समुदायको समानुपातिक, समावेसी र सहभागितामूलक प्रतिनिधित्व हुने गरी व्यवस्था गरेमात्र चुम्लुङले सही गति लिनसक्ने देखिन्छ ।
राष्ट्रिय महाधिवेशन कि गुटको भेला
चुम्लुङको महाधिवेशनमा जोसुकै सदस्य सहभागी हुने अहिलेको व्यवस्था पृथ्वी कै अव्यावहारिक, अव्यस्थित र अलोकतान्त्रिक छ । महाधिवेशनमा संस्थाको उन्नति प्रगतिका लागि नीतिगत छलफल हुनु पर्नेमा राजनीतिक दलजस्तो गुटवन्दी, चुनावमुखी र पैसाको खोलो बग्न थालेको आभास हुँदैछ । दशौं महाधिवेशनमा संस्थाको नीतिगत बहस हुने पहिलो दिन १५० जति मात्र प्रतिनिधि उपस्थित थिए । दुर्भाग्य चुनाव हुने दिन लगभग १ हजार मान्छे भेला भए । दुई/ तीन हजारमा सम्पन्न हुने अधिवेशन कुनै आमुक गुटको स्वार्थमा संस्थाको १३ हजार पाउण्ड सकिदियो ।
चुम्लुङको संस्थागत विकास र फुटबाट जोगाउन केन्द्रीय राष्ट्रिय महाधिवेशनको सहभागिता हुने ढाँचा पूरै परिवर्तन गर्नु अपरिहार्य छ । हाल कायम रहेको २०४० सदस्य सबै भेला हुने व्यवस्थालाई हटाएर १० सदस्य बराबर १ महाधिवेशन प्रतिनिधि हुन पर्छ । यस्तो व्यवस्थामा २०४० को २०४ र केन्द्रीय कार्यसमिति र सल्लाहकार जोड्दा लगभग २५० प्रतिनिधिहरुले सिंगो यूकेवासी याक्थुङहरुको प्रतिनिधित्व गर्छ ।
शाखाबाट चुनिएका प्रतिनिधि मोडलको अधिवेशनमा समग्र चुम्लङको सहभागिता हुन्छ । संख्या घटेर कम खर्च हुने, भीड नहुने र गुटवन्दी कम हुँदै जानेछ । खुला प्रणालीमा कुनै जिल्लाबासी, राजनीति दल, धार्मिक सम्प्रदाय, केवाईसी यूके शाखा वा धेरै जनसंख्या भएका लिम्बूहरुको अहङ्कार बढ्दै गयो भने अल्पमतमा पर्नेहरु बहिष्करणमा पर्ने निश्चित छ । अहिलेको नेतृत्वले यही चरित्र देखाउन थालिसकेको छ । जस्तो हाम्रो समुदाय धेरै बसोवास गर्ने आसफोर्डजस्ता एक/दुई शाखाहरु मिलेर अन्य क्षेत्रमा नेतृत्व आउन नदिने सम्भावना पनि छ । सभा हलमा प्रतिनिधिहरु मात्र भेला हुँदा कम संख्या हुनाले निर्वाचन, खानपान र स्वास्थ्य सुरक्षालगायत अन्य व्यवस्थापनमा समस्या आउँदैन । दशौं महाधिवेशनमा टाढा टाढाबाट आएका अशक्त, बुढापाकाहरु ४ घण्टासम्म लाईनमा उभिएर भोट खसाले ।
केवाईसी यूकेको दशौं चुनावमुखी राष्ट्रिय अधिवेशनले संस्थामा ठूलै सामाजिक र आर्थिक क्षति भयो । समाज पूरै विभाजित छ । एक अर्कामा विश्वास, भरोसा र सम्मान छैन । यसलाई सुधार्न खासगरी वर्तमान केन्द्रीय कार्यसमिति निर्वाचन प्रणालीलाई संसोधन नगरी सुखै छैन । यो प्रणाली बारेमा पहिले पनि बहस भएको थियो । केही कुरा नबुझ्ने सदस्यहरुले चुम्लुङ तिमीहरुको राजनीतिक पार्टी होइन भनेर उडाए र अन्तमा उनीहरुनै प्यानल बनाएर समाज बिगार्न लागेका छन् ।
(लेखमा व्यक्त विचार लेखकका नीजि विचार हुन्)