एमाले महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा चुनाव हुँदै

अध्यक्षका प्रत्याशी रावल र ओली

काठमाडौं । निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ ।

नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिनुभएका डा रावलले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ ।

छ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका बीचमा प्रतिस्पर्धा हुनेछ । भुसालबाहेक अरु सबै निर्वतमान अध्यक्ष ओलीले प्रस्ताव गरेका उपाध्यक्षहरू हुन्, जसमा भुसालले असहमति जनाउँदै उम्मेदवारी दर्ता गराएपछि ती पदमा निर्वाचन हुन लागेको हो ।

यसैगरी सात जना सचिवका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल बिक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पदमा अर्याल, भीम आचार्य र टंक कार्कीका बीचमा प्रतिस्पर्धा हुन लागेको हो । आचार्य र कार्कीलाई निवर्तमान अध्यक्ष ओलीले नसमेटेपछि दुवैका नयाँ उम्मेदवारीका कारण सचिवमा प्रतिस्पर्धा हुन लागेको हो ।

आज साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो । उहाँले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गर्नुभएको हो । उहाँले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री