बुधबार, मंसिर १५ २०७८ | Wed, December 01, 2021
नेपालको समय: १८:१० | UK Time: 12:25

मातृभाषा दिवसले बदलिएको मन

जयराम तामाङ्ग
२०७७ फागुन १० गते ९:२३
मातृभाषा भन्ने बित्तिकै हामीलाई थाहा हुन्छ कि यो भाषा आफ्नो जन्मदिने आमाले बोल्ने भाषा हो। जुनसुकै भाषा जुन देशमा बोले पनि जुनसुकै ठाउँमा अथवा जुनसुकै देशमा बसे पनि आफ्नो आमाले जुन भाषा बोलिरहेको हुन्छ त्यो चाहिँ मातृभाषा हो जस्तो मलाई लागेको छ। जस्तै उदाहरणको लागि यदि एउटी नेपाली चेली बेलायतमा बसेर एउटा नानी जन्माएर त्यो नानीसंग नेपालीमा बोल्दैछ भने त्यो नानीको मातृभाषा चाहिँ नेपाली हो र एउटी बेलायातकी महिला नेपाल गएर बच्चा जन्माउँछिन् र आमाले बच्चासंग अंग्रेजीमा नै बोल्न थाल्यो र बच्चाले अंग्रेजी सिकी सकेपछि अथवा बच्चा अलि ठूलो भई पछि नेपाली सिकेर नेपालीमा बोल्न थाले पनि त्यो बच्चाको मातृभाषा चाहिँ अंग्रेजी नै हो भन्ने मलाई लागेको छ ।
संसार भरमा जे जति भाषा बोले पनि बच्चाले जन्मे पछि बोलेको पहिलो भाषा चाहि मातृभाषा हो भन्दा फरक नपर्ला । यही फेब्रुअरी २१ तारिख आइताबारको दिन विश्व साहित्य महासंघ बेलायतको दक्षिण शाखाले आयोजना गरेको २२औँ अन्तर्रास्ट्रिय मातृभाषा साहित्य कार्यक्रममा शाखाका अध्यक्ष विजय हितानद्वारा निमन्त्रणा दिनु भएकोले मैले पनि जाने मौका पाएँ । नेपाल लगायत बेलायतको विभिन्न संघ संस्थाका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको मातृभाषा सम्बन्धी कार्यक्रम मेरो लागि पहिलोपटक नै थियो ।
नेपालमा अहिलेसम्म १२९ भाषाहरु रहेको सरकारी तथ्यांकले जनाएको जानकारी शाखाका महासचिव अमित याक्थुम्बाले जानकारी दिनु भएको थियो। ती १२९ भाषीमध्ये म पनि एक हुँ ।  मैले पनि जानी नजानी तामांग भाषाको एउटा तामांग सेलो रचेर लगेको थिएँ । त्यो कस्तो थियो भन्ने कुरा त्यहाँ उपस्थित हुनुहुने वरिष्ठ अग्रजहरुले नै मूल्यांकन गर्नु भयो होला । शाखाका महासचिव अमित याक्थुम्बाले जानकारी दिनु भएअनुसार कार्यक्रममा १६ भाषाको पैतीस/छत्तीस वटा रचनाहरु प्रस्तुत भएको थियो । सबै भाषाका सर्जकहरुले मीठो मीठो रचनाहरु प्रस्तुत गर्नु भएको थियो।  यसरी प्रवासमा रहेर पनि आफ्नो मातृभाषाको रचानाहरुमार्फत सबै सर्जकहरुले आफ्नो मातृभाषालाई प्रबर्धन गर्नु पर्ने कुरालाई जोड दिएर लेख्नु  भएको रचनाहरु प्रस्तुत भएको सुन्दा मैले पनि आफ्नो मातृभाषालाई संरक्षण गर्नुपर्छ भन्ने अनुभूति भएको थियो।
मेरो घरको आफ्नै छोराछोरीलाई मैले अथवा मेरो श्रीमतीले मातृभाषा सिकाएनौ भने उनीहरुले कसरी जान्नु र कसरी सिक्नु भन्ने कुरा सम्झना भयो।  मलाई त आमाले म सानो हुँदा तामांग मातृभाषा सिकाउनु भएको हुनाले अहिलेसम्म पनि तामांग भाषा बोल्न सक्ने भएको छु। खासै भन्ने हो भने मलाई १२ वर्षको उमेरसम्म राम्रोसंग नेपाली भाषा पनि बोल्न आउँदैन थियो। मेरी श्रीमतीलाई पनि राम्रोसंग तामांग भाषा बोल्न आउँछ तर दुर्भाग्यवस मेरो छोरालाई त नेपाली भाषा पनि बोल्न आउँदैन। यो किन भयो भन्दा मैले  र मेरो छोरा दुवैले अंग्रेजी  भाषामा नै कुरा गर्ने गरेका छौं। आमाले नेपाली भाषामा बोले पनि छोराको नेपाली भाषा विदेशीको जस्तो गरेर बोल्ने गरेको छ । यो हाम्रै कारणले भएको हो। हामी घरमा नेपालीमा कुरा गर्छौं त्यसैले छोरीले भने नेपालीमा नै कुरा गर्छिन्।  म र मेरी श्रीमती तामांग भए पनि हामी दुवैजना नेपालमा फरक-फरक ठाउँका भएकोले हाम्रो तामांग भाषा पनि फरक भएकोले म र मेरी श्रीमती कहिल्यै तामांग भाषामा कुराकानी गरेनौं। मेरो विचारमा सिक्नेले जबसम्म सिक्ने कोसिस गर्दैन तब अरुले जबरजस्ती गरेर पनि नहुने रहेछ जस्तो लाग्यो। मैले मेरो छोरालाई कति धेरै सिकाउने  प्रयास गरेँ तर मेरो छोराले कहिल्यै सिक्ने इच्छा नै गरेन। मैले नेपालबाट किताब ल्याएर सिकाए पनि छोराले नेपाली भाषा सिक्ने प्रयास गरेन। छोरी नेपालमा जन्मेको हुनाले केही वर्ष नेपालमा नै पढेकी हुनाले नेपाली भाषा हामीले जस्तै प्रस्ट रुपमा  बोल्न सक्छिन् ।
मातृ शब्द नै कति प्यारो हुन्छ।  म नेपालमा आमासंग कुराकानी गर्दा जहिले सानो हुँदा बोलेको तामांग भाषामा नै कुरा गर्छु। कति रमाइलो लाग्छ, कति मीठो लाग्छ। म अरु अरु भाषा पनि बोल्छु तर मलाई तामांग भाषामा आमासंग बोलेको अर्कै मिठास लाग्छ । तेसैले मातृभाषाको जगेर्ना गर्नको लागि छोराछोरीको पनि ठूलो हात हुने रहेछ। जसरी आमाले बनाएको भात, तिहुन मीठो लाग्छ त्यसैगरी मातृभाषा पनि त्यति नै मीठो हुनको लागि आमाबाउले बनाएको भात, तिहुन जस्तै गरी छोराछोरीले बनाउनु पर्ने हुन्छ।  बाउ आमालाई छोराछोरीले पनि आफूले गरे जस्तै गरेको होस् भन्ने चाहना हुन्छ। आफ्नो संस्कृति भाषा सिकेको होस् भन्ने चाहना हुन्छ  तर कहिलेकाँही छोराछोरीले त्यो नगर्दा बाउआमाहरु कति दुखी हुन्छन् । सधैँभरि आफूसंगै होस्, आफूले जस्तै गरेको होस् भन्ने चाहना हुन्छ भन्ने आज मलाई पनि अनुभव भएको छ। भर्खर मेरी छोरी आफूसंगै पढेको चिनेको केटासंग बिहे भएर आफ्नो घर जाँदा हामी कति धेरै दुखी भयौं । अरु बेला जहाँ गए पनि फर्केर आउँछ भन्ने लाग्थ्यो । कोठामा छोरीको समानहरु देख्दा छोरी छ भन्ने अनुभव हुन्थ्यो। तर आज रित्तो कोठा देख्दा मन कति खिन्न हुँदोरहेछ। मेरो भन्नुको मतलब आफ्नो मातृभाषा संस्कृति छोराछोरीले छोडेर गयो भने आमा बाउलाई कति दुख लाग्ने रहेछ भन्न खोजेको हो। तेसैले हामी प्रवासमा भएर पनि आफ्नो आमाबाउलाई सम्झेर आफ्नो भाषा संस्कृतिलाई बिर्सनु नहुने रहेछ भन्ने कुरा त्यो अन्तर्रास्ट्रिय मातृभाषा कार्यक्रमले सिकाएको छ।
धन्यबाद विश्व साहित्य महासंघ बेलायत दक्षिण शाखालाई त्यो कार्यक्रमको लागि ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक