आइतबार, फागुन १६ २०७७ | Sun, February 28, 2021
नेपालको समय: १७:०७ | UK Time: 11:22

प्रवासको पीडा बिसाउन साहित्यिक गतिविधि गरिरहेका छौं-लालसुन्दर राई

गोमा रानामगर
२०७७ माघ ७ गते १५:५९

भनिन्छ साहित्य एक समाजको ऐना हो । साहित्यमा समाज भित्रका देश विदेशका कुरा अनि आफ्नो ब्यक्तिगत अन्तरात्माका अनुभूति, कुराहरु पनि छर्लङ्ग देख्न र देखाउन सकिन्छ। आज म यस्तो ब्यक्तिसँग कुरा गर्न गइरहेको छु कि साहित्यमा के कसरी होमिन पुग्नु भयो । साहित्यलाई कसरी अङ्गाली राख्नुभएको छ यतिमा मात्रै केन्द्रित नभै थुप्रै कुरामा बातचित हुनेछ। नाम जस्तो सुन्दर उस्तै मन पनि सुन्दर ब्यक्तित्व लामो समयदेखि साहित्य क्षत्रमा प्रबल ब्यक्तित्व गीतकार कवि र अहिले विश्व नेपाली साहित्य महासंघ दक्षिण पश्चिम शाखाका अध्यक्ष लालसुन्दर राईसँगको कुराकानी अब वहाँकै मीठो शैलीमा आफ्नो भनाइहरु सुन्न र जान्न तर्फ लागौं ।

दाजु नमस्कार झोर्लाङ गोमा बहिनी

झोर्ले नमन! बैनीसंगको यस भेटघाटका लागि धन्यवाद !

हाम्रो कुराकानीको प्रारम्भमा दाजु तपाईको छोटो परिचय दिनुहोस् न।

सामातुँ गाउँ, जिल्ला दिक्तेल-खोटाङबासी तर जमूना टोल धरान हुँदै काठमाण्डु र हाल बेलायतस्थित स्विन्डनमा ईश्वरको अनुग्रहमा अहिलेसम्म कािभड १९ ले बोनश दिएको जिन्दगी भोगेर बाँचिरहेको छु ।

साहित्यमा कसरी लाग्नु भयो ? तपाईंलाई के कुराले साहित्यप्रति प्रेरित गरायो ?

हरियाली गाउँपाखा पखेरूमा जन्मी गाउँकै खोलानाला झरनामुनी शैशवता पोती हुर्कन पाउनु सौभाग्यशाली जीवन हो। जहाँ स्वर्गै सजाएर रमाऊने भावनामा जिउने कल्पनाभित्र वास्तविक जीवनयापन भने अभागीले गुमाउनु र गरीबले संघर्षमा पौडी जीवनको गन्तब्यतिर लम्कने प्रयत्न नै प्रेरणाका श्रोत थिए क्यार ।

साहित्य के हो ? तपाईंको परिभाषामा र यस्लाई कसरी लिनुहुन्छ ?

आफ्नो मौलिक भाषामा जीवन्त भावना उनिएका लेखन वा प्रस्तुत पर्दापणबाट फक्रिएका हजारौं थुँङ्गाहरू झुम्मिने फूलवारी नै साहित्य हो जस्तो लाग्छ ।

कस्तो अवस्थामा तपाईंलाई लेख्न अथवा तपाईंको भावना फुर्छ?

चक्षु सन्मूख प्रकृति उदाई जिस्की दिंदा, मिलन बिछोडका सँध्या र बिहानी उषा बादलको घूम्टोभित्र मुहार छिपाएर बिलीन हुँदा मार्मिक मर्म र छहरा पहरा पखेरू तलमा आमाको अमेट मुहार उदाई न्यानो ममताको बक्षको स्वर्गीय सुखद अनुभूतिभित्र रमाई परम आनन्दमा तैरिएर बाँचिरहँदाका थोरै पलहरूमै केही त फूरेका थिए क्यार ।

बेलायतमा अहिले विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखाको दोस्रो पटकको पनि अध्यक्ष हुनुहुन्छ । विनेसामको स्थापना कहिले भएको हो ?

विश्व नेपाली साहित्य (विनेसाम) पश्चिम शाखा, ४ मे महिना २0१८ सालमा मेरै अध्यक्षतामा स्थापना भएको थियो।

यो सँस्था स्थापना गर्नुको मुख्य उद्देश्य के हो?

साहित्य भावनामा फूल्दछ, फूलाईन्छ र सजाइन्छ। यही हो यो सँस्थाको सानो उद्देश्य । विशेषगरी भावनामै कथा उनिन्छ र फूलहरू फूलाइन्छ प्रवासमा पनि। दार्जीलिङ पहाडकी रानी हाम्रो नेपालको भूमि थियो। तर हाम्रो र हाम्राहरू प्रवास र प्रवासी विखण्डनको अनुभूतिमा प्रष्फुटित गीत तत्कालीन राजा महेन्द्रको भ्रमणको अवसरमा स्वर्गीय अम्बर गुरूङज्यूको कहिल्यै बिलीन नहुने गीत नौलाख तारा उदाए  प्रस्तुत हुँदा तत्कालिन राजा महेन्द्रको छाती छियाछिया भएको थियो। दार्जीलिङ प्रवासीहरूको क्रन्दन तर आज त्यही मार्मिक रोदन, बेलायती प्रवासीको जीवन्त वर्तमान बनेको छ बेलायतमा। त्यो गीत यहाँ राख्न चाहें । जुन गीतमा विश्वभरिका प्रवासीहरूको रोदन प्रस्फुटन भएको छ।

हो……. नौलाख तारा उदाए

धर्तीको अकाश हाँसेछ

शरद लाग्यो वनमा

फूलले प्रीति गाँसेछ ।

नजली यहां झिलीली

मनको तारा निभेछ ।

गुराँश फूल्यो पहाडमा

मनको फूल निभेछ

नसम्झ आज (गोर्खाली) नेपाली

सञ्चोले यहां बाँचेको

काँडाको माझ पहाडको

छैन र कहां हाँसेको

सुनको सपना आँशुमा

किन हो बाँधी ल्यायौ नि

घरको मायाँ बिर्सेर

किन पो यहाँ आयौ नि

मुटुमा रगत एउटै हो

पिरको बह बेग्लैछ

हामीलाई यहां चिन्यौ कि

मनको चोट बेग्लै छ

नियाली हेर (गोर्खा) हामीलाई

भिजेको छैन परेला

आँशुले गह भिजाए

अरूले निर्धा सँझेला

बुझ्छ र कल्ले रोएको

मुटुमा काँडा बिझेर

अरूको माझ हाँसेको

आँशुका घुट्का पिएर

पहाडी फूल नफक्री

किन हो चुँडी ल्यायो नि

मनको आगो निभाउन

किन पो यहाँ आयौ नि हो ……

रूनु हाँस्नु नै जीवन हो तर क्रूर राणा शासकद्वारा बगाईएको नालामा अझै बही प्रवासी बन्नुको भोगाई हाम्रो पनि मर्म हो। यस्तै भावनाहरू बिसाई आदानप्रदान गर्ने यो सँस्थाको उद्देश्य हो भन्दा अत्यूक्ति नहोला ।

यस्को बिस्तार गर्न के कस्तो भूमिका खेल्नु भएको छ?

विश्वभरका विभिन्न देशहरूमा विनेसाम केन्द्रीय समिति अन्तर्गत लगभग २४ शाखाहरू स्थापना भैसकेका छन्। बेलायतभित्र विनेसाम पश्चिम शाखा र दक्षिण शाखा स्थापित छन्। भविष्यमा बेलायतभित्रै अझ १ वा २ शाखा थपिए अवश्यै राम्रो हुने थियो। यो भविष्यको आशा हो।

विनेसामले स्थापना कालदेखि के के कामहरु गर्यो ?

विनेसाम पश्चिम शाखाको विशेष लक्ष्य भने आन्तरिक त्रैमासिक गोष्टी सञ्चालन क्रमश थियो र हुनेछ। यसका अलावा कविता र कथा सँग्रह पुस्तकहरूका थुप्रै विमोचन जमेर रमाई भब्यरुपमा सफल तुल्याइयो। वातावरण साहित्य गोष्ठी प्रतियोगितालगायत साहित्यिक सम्मेलन र थुप्रै प्रतिष्ठित ब्यक्तित्वहरुका जन्म दिनको उत्सव वा स्मरण दिवशहरूमा थोरै तर शाखाका सम्पूर्ण मिली रमाएका हुन्थ्यौं। जो हामी आज पनि अविस्मरणीय रूपमा प्रसङ्गबीच स्मरण गरी रमाउने गर्छौ। साथै परिस्थितिको परिवेश अनुसार भर्चुअल माध्यमद्वारा अस्तिसम्म हामीले विभिन्न कार्क्रमहरू आयोजना गरी भब्य र सभ्यरूपमा सम्पन्न गरिरहेका थियौं।

भावी योजनाहरु के के छन् त ?

भावी योजनाहरू हामीले भर्खरमात्र नेपाली लिङ्क र नेपाल मामिला अनलाइनहरूद्वारा प्रकाशन गरिसकेका छौ। सो अनुसार यो साल मार्चमा हुने गोष्ठी नारी अवस्था र नारी दिवश थिम राखी कार्यक्रम सम्पन्न गर्ने र साथै मे महिनामा पारिजातको जन्म दिवश मनाउने अन्तिम निर्णय गरी सम्पन्न गर्नेछौ। त्रैमाशिक गोष्ठीहरू ३-३ महिनामा सञ्चालन गर्दै अगाडी बढिरहने छौं भने अर्को वर्ष २०२२ सालमा पनि प्रतिष्ठित साहित्यिक नक्षत्रका जन्म दिवश वा स्मरण दिवसहरू आयोजना गर्दै अन्य विभिन्न महत्वपूर्ण कार्यक्रमहरू पूरा गर्ने हाम्रा प्राथमिक कार्यक्रमहरू छन् ।

विनेसाममा आवद्ध हुनको लागि के कस्तो प्रावधान रहेको छ?

यसका लागि सबैभन्दा महत्वपूर्ण परिचय भेटघाट र उत्सुक महानुभाव जो पनि निशुल्कमा प्रवेश हुन सक्नु हुनेछ। सौहार्द स्वागत गर्न हामी तत्पर भैरहेका हुनेछौं। हाम्रो त्रैमाशिक गोष्ठी कार्यक्रममा साथीको साथी माध्यम वा सम्पर्कबाट जोडिन सकिने अवगत गराउन चाहन्छु।

अन्त्यमा मैले नसोधेका र तपाईंले भन्नै पर्ने केही कुरा छुटेका छन् भने कृपया भन्नुहोला।

यस अवसरका लागि आभार ब्यक्त गर्दै हाम्रो गाउँ, हाम्रो ठाँउ, पाखा पखेरू नभुलौं भन्न चाहन्छु। साथै हाम्रा सन्तानहरूलाई क, ख, ग,देखि ज्ञसम्म चिनाऔं। नेपाली भाषा हामी बाजेबजू, बाबाआमा र दाजुदिदीले घरमा १ घण्टा पढाएरै भएपनि गाउँघर जाँदा अनुवादक नचाहियोस्। जातीय भाषा हराएर नजाओस्। जसको सँरक्षक हामी आफैँ हौं। जातीय भाषा हराए, परिचय बिलीन हुन्छ। बिना चिनारी अस्तित्व मासिन्छ। कदापी यसो हुन नजावस्। बहिनी गोमा रानाज्यू भुलेर भूल्न नमिल्ने, यति मीठो प्रश्नहरू सोधी दिनुभयो अन्तरात्मादेखि नै स्नेही बहिनी गोमा रानाप्रति आभार साथ धन्यवाद टक्रयाउछु।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक