नेकपा एकता राष्ट्रिय अभियानमा सहयोग गर्न गौतमको अपिल

वामदेव गौतमले दुवै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई उक्त अभियानमा जोडिन अपिल पनि गरेका छन् । शनिबार बिहान एक वक्तव्य जारी गर्दै एकता राष्ट्रिय अभियान लाग्न आव्हान गरेका हुन ।

गौतमको अपिल

आदरणीय कमरेडहरु,

आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । यो संकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो ।

यो उपलब्धि मार्क्सवाद लेनिनवादको मार्गदर्शनमा विकसति जनताको बहुदलीय जनवादको अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ति हुने छैन । तर सरकार संचालनको एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दु:खद र पीडादायी भएको छ । नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शिर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो ।

हामी सबैलाई थाहा हुनुपर्छ, चार दशक देखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरु प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश वर्षसम्म सशस्त्र संघर्ष सञ्चालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका बीच भएको एकिकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो । राष्ट्रिय राजनीतिमा महत्वपुर्ण हैसियत राख्ने दुई कम्युनिस्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको बीचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वभाविक हो । तर तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सके पछि मतभिन्नता त्यति जटिल हुने देखिँदैन ।

सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो । तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो । पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमतिअनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो । अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो । यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सिर्जना भएको छ । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधिसभालाई दुरुपयोग गर्ने सम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो ।

पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरण पछिको यो एक वर्ष नेतृत्वको धु्रवीकरणमा बित्यो । पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले वेर्होन परेको छ । यतिवेला कार्यकर्ताहरुलाई तानातान गर्दै क.के.पी. शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क.पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा अर्को समूह देखापरेका छन् ।

प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुन:स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । साथै निजी क्षेत्रका दर्जनभन्दा बढी कानुनविद्हरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ । दुवै समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आफ्नो हक दाबी गर्दै निर्वाचन चिन्हमा समेत आफ्नो दाबी गरिरहेका छन् ।

उपरोक्त सम्पूर्ण अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुन:एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु । यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुन:एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।

उपरोक्त दुवै समूहमा सामेल हुनुभएका कमरेडहरु !

एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीहरुलाई हसाउँदै सुरु गर्नुभएको लडाइँ बन्द गनुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं सहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चा‍लन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं ।

देश र विदेशमा रहनु भएका हाम्रो पार्टीका प्रिय कमरेडहरु !

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्नुहोस ! तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस । कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस । घरमा आउने कमरेडहरुलाई आफूसक्दो सहयोग गर्नुहोस । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस ।

कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।

लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन !

धन्यवाद !

वामदेव गौतम

संयोजक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान

(गौतमको फेसबुकबाट)

प्रतिक्रिया

सम्बन्धित सामाग्री