इङल्याण्ड लकडाउन: कस्तो अवस्थामा घरबाट बाहिर निस्कन पाइन्छ ?

लण्डन । इङल्याण्डमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि मंगलबारदेखि राष्ट्रव्यापी लकडाउन शुरु भएको छ ।

सरकारले लकडाउनमा के गर्न पाइने के गर्न नपाइने भन्ने बारेमा सार्वजनिक सूचना प्रकाशित गरेको छ । मूलत सरकारले घरमै बस्न अपील गरेको छ । सीमित कार्यमा बाहेक अन्य अवस्थामा घरबाट बाहिर निस्कनु गैरकानुनी र दण्डनीय बनाइएको छ ।

कस्तो अवस्थामा घर छोड्न पाइन्छ त ?

१.  काममा जान –  घरबाट गर्न नसकिने काममा जानका लागि ।

२. समाजसेवाका लागि – सामाजिक सेवा वा सहयोगी कार्यका लागि ।

३. अत्यावश्यक कार्यका लागि- आफूलाई चाहिने अत्यावश्यकीय सामग्री किनमेलका लागि वा आफूले रेखदेख गरिरहेका अपाङ्गता भएका, सेल्फ आइसोलेसनमा बसेका वा जोखिममा रहेका व्यक्तिका लागि सामान किनमेल गर्नका लागि ।

४. शिक्षा वा बालबालिकाको रेखदेखका लागि – पठनपाठनका लागि, बालबालिकाको हेरचाहका लागि ।

५. अरुको देखभालका लागि – आफूले रेखदेख गरिरहेका परिवारलाई भेटन, अत्यावश्यकीय सेवाका क्षेत्रमा कार्यरत व्यक्तिहरुको बालबच्चा रेखदेख गर्न, अपाङ्गता भएका वा स्वास्थ्यका हिसाबले जोखिममा रहेकाहरुलाई सहयोग गर्नका लागि ।

६. शारीरिक कसरतका लागि- एक्लै वा आफ्नो घरभन्दा बाहिरका एक जनासित वा आफूले हेरचाह गरिरहेका परिवारका सदस्यहरुसित शारीरिक व्यायामका लागि । तर यस्तो कसरतका लागि आफ्नो स्थानीय क्षेत्रभन्दा बाहिर जान पाइँदैन र दिनमा एकपटक मात्र जान पाइनेछ । अरुसित भेट हुँदा दुई मिटरको सामाजिक दुरी कायम गर्नु पर्नेछ ।

७. स्वास्थ्यका कारण – चिकित्सकसित नियमित जाँचका लागि, कोभिड १९ को टेष्टका लागि र अरु आपतकालिन स्वास्थ्य अवस्थामा घर छोड्न पाइन्छ ।

८. हिँसाबाट बच्न र सहानुभूतिका लागि – कसैले बच्चा पाउँदैछ भने उसित रहनका लागि घरबाहिर निस्कन पाइनेछ । चोटपटकबाट बच्नका लागि वा घरेलु हिंसाबाट अलग रहनका लागि घरबाट बाहिर निस्कन पाइनेछ । कसैको मृत्यु हुन गइरहेको छ भने त्यस्तो व्यक्तिलाई घर वा केयर होममा भेटन जान पाइने छ ।

९. घरपालुवा जनावरको लागि – घरपालुवा जनावरलाई पशु चिकित्सकसित नियमित स्वास्थ्य जाँचका लागि वा उपचारका लागि लैजान घरबाट बाहिर निस्कन सकिने छ ।

१०. विवाह र अन्तिम सँस्कारका लागि – प्रार्थना, पूजाका लागि घरबाट बाहिर निस्कन पाइने छ । अन्तिम सँस्कार, विवाहका लागि घरबाट बाहिर निस्कन पाइनेछ तर यसरी निस्कँदा अन्य परिवारका सदस्यहरुसित घुलमिल हुन पाइँदैन र कति जनासम्म भेट हुने संख्या तोकिएको छ ।

यसबाहेक पनि केही कार्य जस्तै घर किनबेच, भाडामा दिन वा लिन वा मतदानका लागि घरबाट बाहिर निस्कन पाइने छ ।

तर तोकिएका बाहेक अन्य कार्यका लागि घरबाट बाहिर निस्केमा त्यो गैरकानुनी हुनेछ र पहिलो पटक २०० पाउण्डसम्म र तत्पश्चात दुई गुणा वृद्धि भई ६ हजार ४०० पाउण्डसम्म जरिवाना हुन सक्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री