राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार हनुमानढोकास्थित गद्दी बैठकबाट इन्द्रजात्रा पर्वको अवसरमा कुमारी रथ यात्राको अवलोकन गर्दै । सो अवसरमा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु संवैधानिक अंगका प्रमुखलगायतको उपस्थिति थियो । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, ८ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो । विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् ।

भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको पनि सहभागिता थियो । विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गर्नुभएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको बैठक यसै वर्ष मात्र पुनःनिर्माण भएको हो । विसं २०७२, २०७३ र २०७४ सालको इन्द्रजात्राको कार्यक्रम विशिष्ट व्यक्तित्वले वसन्तपुर डबलीबाटै अवलोकन गर्नुभएको थियो ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

Indra jatra

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार हनुमानढोकास्थित गद्दी बैठकबाट इन्द्रजात्रा पर्वको अवसरमा कुमारी रथ यात्राको अवलोकन गर्दै । सो अवसरमा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु संवैधानिक अंगका प्रमुखलगायतको उपस्थिति थियो । तस्बिर -रोशन सापकोटा, रासस

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोकको नालास्थित जङ्गलमा छाडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई काठमाडौँ भित्र्याउन पनि साइत हेरिन्छ । यहाँ भित्र्याइएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरी भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस उपलक्ष्यमा आज काठमाडौँ उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । यस अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

मनाइयो अनन्त चतुर्दशी 

भाद्र शुक्ल चतुर्दशीका दिन आज अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना गरी अनन्त चतुर्दशी पर्व पनि मनाइएको छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागामा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाहरुले आजै मन्त्रने विधानसमेत रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पौराणिककालका खास घटनामा आधारित भएर शुरु भएका यस्ता चाडपर्व कालान्तरसम्म जीवितै हुनु खुशीको कुरा भएको बताउँदै उहाँले यहाँ सबै जातिका आफ्नै प्रकारका संस्कृति र चाडपर्व सांस्कृतिक सम्पत्ति भएकाले सरकार यस्ता सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धधनमा सकारात्मक रहेको स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्रीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने चाडपर्वले नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्दै भन्नुभएको छ, “नेपालको यो एकतालाई धुमिल्याउन विभिन्न तत्वले विगतमा गरेका प्रयासलाई नेपाली जनताले परास्त गरेका छन्, नेपालीहरु जाति, धार्मिक, सांस्कृतिक रुपमा एकताबद्ध छौँ भन्ने सन्देश नेपालीहरुले दिएका छन् । यो हाम्रा लागि गौरवको कुरा हो ।”

वर्तमान सरकार आर्थिक विकास र सृमद्ध नेपाल निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको यो अभियानसँग यस प्रकारका सांस्कृतिक महत्व भएका चाडपर्व पनि जोडिन सक्ने बताउनुभयो । मौलिक विशेषता भएका यस्ता पर्व विदेशी पर्यटक आकर्षणका लागि महत्वपूर्ण सावित हुन सक्ने भएकाले यिनलाई पर्यटनसँग जोडेर पनि हेर्नु उपयुक्त हुने प्रधानमन्त्रीले सन्देशमा बताउनुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री