चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ, ४ असोज – चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदिदियौंदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा गर्नुभयो ।

उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताउनुभयो । उहाँले चिनियाँ बन्दरगाहा प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न आग्रह गर्दै यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताउनुभयो । उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ल्हासा, काठमाडौँ, लुम्बिनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियासम्म जोड्न सकिने र त्यसबाट दुबै देश लाभान्वित जानकारी दिँदै उहाँले अवरुद्ध तातोपानी नाका सञ्चाल, केरुङ नाकाको स्तरोन्नति, ओलाङचुङगोलालगायतका नाका सञ्चालनमा पनि जोड दिनुभयो ।

भेटका क्रममा उहाँले नेपालले बुधबार नै संविधान दिवस मनाइएको स्मरण गर्दै संविधान जारी भएपछि तीन तहको निर्वाचन सम्पन्न भएर स्थायी सरकार बनेपछि सरकारको ध्यान ध्यान आर्थिक समृद्धितर्फ गएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उपराष्ट्रति पुनले नेपालको समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेकाले यसलाई सन्तुलनमा ल्याउन दुवै देशले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण बनेको बताउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले नेपालको जलविद्युत्, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सहज हुने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

सो अवसरमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनको घनिष्ठ र साझेदारी देश भएको बताउँदै नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुरयाउन ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ कार्यक्रममार्फत अघि बढेको बताउनुभयो ।

उहाँले नेपालले एक चीन नीतिप्रति जनाएको दृढ समर्थन र स्वतन्त्र तिब्बत गतिविधि नियन्त्रणमा निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिनुभयो । उपप्रधानमन्त्री हुले नेपालमा स्वतन्त्र तिब्बतसम्बन्धी कुनै पनि गतिविधि नहुने र नेपाल सरकारले गर्न नदिनेमा चीन पूर्ण विश्वस्त रहेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री हुले नेपालको स्थिरता, विकास, समृद्धि र नेपाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नेपालले चाल्ने हरेक कदमको चीनले स्वागत गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गर्न चीनको सहयोग रहने बताउनुभयो । उहाँले नेपालमा चीनको विभिन्न परियोजना सञ्चालनमा रहेको स्मरण गर्नुहुँदै भूकम्पपछिको पुनःनिर्माणका लागि भएका सम्झौता कार्यान्वयनमा रहेको र यसमा थप सहयोग बढाउन सकिन्छ कि भन्नेमा छलफल भइरहेको समेत बताउनुभयो ।

काठमाडौँसम्म रेल पुरयाउन भइरहेको प्रयासलाई प्रभावकारी बनाउने, तातोपानी नाका सञ्चालनमा ल्याइने, केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्न पहल गरिने जानकारी दिँदै उपप्रधानमन्त्रीले हुले नेपालमा लगानीका लागि चीन सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गरिरहेको पनि बताउनुभयो ।

१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छेन्दु पुग्नुभएको थियो । उहाँले बिहीबार मेला उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुनेछ ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको छ भन्नुभयो ।

केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआइ) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोगसम्बन्धी भएका समझदारी महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको प्रशंसा गर्नुभयो । चिनियाँ राष्ट्रपतिले बिआरआइमार्फत सम्बद्ध राष्ट्रबीच सहयोग अभिवृद्धि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सार्नुभएको विचारको स्वागत गर्दै उहाँले त्यसमा नेपाल सामेल हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

बिआरआइसम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सहयोग अगाडि बढाउने कुरामा दुवै देश प्रतिबद्ध रहेको उपराष्ट्रपति पुनको भनाइ थियो ।

काठमाडौँ र छेन्दु शहरबीच स्थापना भएको भगिनी सम्बन्धले नेपाल र सिचुवान प्रान्तबीचको सम्बन्धमा नयाँ आयाम थपेको उहाँले बताउनुभयो । नेपालमा गत वर्ष सम्पन्न सङ्घीय संरचनाअनुरुपको ऐतिहासिक निर्वाचनपश्चात् मुलुकमा शान्ति, स्थिरता र समृद्धिको ढोका खुलेको बताउँदै उपराष्ट्रपति पुनले नेपालको आगामी प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु र सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को बृहत् लक्ष्य हासिल गर्नु रहेको छ भन्नुभयो ।

उहाँले सडक सञ्जाल, रेल्वे, ऊर्जा उत्पादन एवं यसको वितरणजस्ता आधारभूत पूर्वाधारको निर्माण एवं सीमा वारपार रेल्वे, राजमार्ग, सञ्चार, प्रसारण लाइनलगायतका क्षेत्रमा विकास गर्ने लक्ष्य रहेको बताउँदै व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्यसमेत रहेको उल्लेख गर्नुभयो ।

उहाँले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट आउनुभएका लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाबाट फाइदा लिन र लगानी गर्न आग्रह गर्नुभयो ।

“नेपालको प्रचलित ऐन कानून र नीति लगानीमैत्री रहेका छन् । विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानूनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईहरूलाई लाभ नै हुनेछ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु”, उहाँले भन्नुभयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको सन्दर्भमा नेपाल भ्रमणका लागि चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन चिनियाँ पर्यटन व्यवसायीलाई उपराष्ट्रपति पुनले आग्रह गर्नुभयो ।

मेलामा सहभागी नेपाली उद्यमी, लगानीकर्ता तथा व्यवसायीको चिनियाँ एवं विदेशी समकक्षीसँगको संवाद, अन्तक्र्रिया र सम्झौताबाट दीर्घकालीन सहकार्य र साझेदारी बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सन् २००० देखि आयोजना भइरहेको यस मेलाले चीन तथा सहभागी मुलुकलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोडिरहेको छ ।

मेलाले व्यापारी, उद्यमी तथा लगानीकर्ताबीच विचार आदनप्रदान, सम्बन्ध स्थापना, अन्तक्र्रिया एवं व्यापारिक सहकार्यको अभिवृद्धि गर्ने अवसर प्रदान गर्दै आएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री