वेल्समा पैदलयात्रा गर्न नेपालबाट आए प्रख्यात आरोहीहरु

लन्डन । ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवर्धन गर्न वेल्समा हाइकिङ (पैदलयात्रा) आयोजना गरिने भएको छ । भुईंचालोपछि थलिएको नेपालको पर्यटन प्रवर्धनका लागि संयुक्त अधिराज्यको वेल्समा हाइकिङ (पैदलयात्रा) गरिने भएको हो । ‘हाइक फर नेपाल’ कार्यक्रम मार्फत भुईंचालोपछि पनि नेपाल भ्रमण गर्न सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्य रहेको आयोजक ‘वी वील राइज फाउन्डेसन’ले जनाएको छ ।

उक्त पैदलयात्रामा सहभागी हुन नेपालबाट तेह्रपटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, १६ वटा विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागाई, वी वील राइज फाउन्डेसन, नेपालका निर्देशक निर्मल श्रेष्ठ र सोही फाउन्डेसनका हङकङ निर्देशक सुरज गुरुङ बेलायत आइसकेका छन् ।

‘हामी उठ्ने छौं’ अभियान अन्तर्गतको कार्यक्रम आयोजनामा पोखरेली मञ्च, यूकेको सहकार्य छ । अगस्ट ३ देखि सुरु हुने उक्त कार्यक्रम तीन दिनसम्म चल्नेछ । पैदलयात्रा अगस्ट ४ मा हुनेछ । यसमा नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ बेलायत, लन्डनस्थित नेपाली दूतावास लगायतको पनि सहयोग रहेको बताइएको छ ।

‘वी वील राइज फाउन्डेसन’ को यस्तो खाले पैदलयात्रा कार्यक्रमको यो तेस्रो संस्करण हो । यसअघि हङकङमा दुई पटक भइसकेको छ । यो वर्ष वेल्समा हुने कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानलाई टेवा पुरयाउने आशा रहेको फाउन्डेसनका संस्थापक तुलसी गुरुङले बताएका छन् । ‘नेपालको पर्यटन प्रवर्धनका निम्ति यहां बसोबास गरिरहेका धेरै नेपालीले आफ्नो समय दिनुभएको छ,’ फाउन्डर गुरुङले भने, ‘नेपाल चिनाउन र पर्यटक बोलाउन हामी निरन्तर पहल गरिरहने छौं ।’

पैदलयात्रा वेल्सको ‘ब्ल्याक माउन्टेन’ मा हुनेछ । पैदलयात्रासंगै सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने आयोजकले जनाएका छन् । ‘नेपालको लागि संगसंगै पाइला चालौं’ नारासहित आयोजना हुने कार्यक्रममा नेपाली र विदेशी गरी १५० जनाभन्दा बढीको सहभागिता रहने अनुमान छ ।

कार्यक्रममा नेपाली राजदूत, नेपाल तथा हङकङका गायक, स्थानीय सांसदहरु, मेयरहरु लगायतको सहभागिता रहने आशा छ । भुईंचालोपछि थलिएको नेपालको पर्यटन क्षेत्र उकास्न ‘वी वील राइज फाउन्डेसन’ ले यस्ता कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री