
ललितपुरको सानेपामा ३६ औँ बिपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस केन्द्रीय समितिद्वारा आइतबार आयोजित कार्यक्रममा बिपीको तस्बिरमा माल्यार्पण गर्दै नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ६ साउन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउनुभएको छ ।
छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उहाँले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताउनुभयो ।
आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उहाँका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीका विचारबाट पार्टी विचलित नभएको स्पष्ट पार्दै भन्नुभयो, “बिपीले परिकल्पना गरेअनुसार संविधानसभाबाट संविधान जारी भएको र ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता काँग्रेसले विभिन्न कार्यक्रम अघि बढाएको छ ।”
ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा पुगोस् भन्ने प्रा डा केसीका माग उपेक्षा गरेर सरकार दमनमा उत्रिएको आरोप लगाउनुभयो । काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले मार्गनिर्देशन गरेको सिद्धान्त आत्मसात् गरे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ भन्दै पार्टीभित्रका गुटउपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिनुभयो ।
पार्टी कोषाध्यक्ष सीतादेवी यादवले बिपीले देखाएको मार्ग र प्रजातन्त्रका लागि गरेका योगदान सबै काँग्रेसीजनका मनमा भए पनि बाटो बिराएर पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । काँग्रेस नेता गोपालमान श्रेष्ठले बिपीका सपना पूरा गर्न संविधानसभाबाट संविधान जारी गरी कार्यान्वयन गर्ने लगायत काम काँग्रेस नेतृत्वमै सफल भएको बताउनुभयो ।
पार्टी नेता डा रामशरण महतले बिपीले भनेझैँ काँग्रेसले मुलुकमा आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको जिकिर गर्नुभयो । कार्यक्रममा काँग्रेस मुख्य सचेतक बालकृष्ण खाँण, नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, काँग्रेस ललितपुरका सभापति मदन आमात्यलगायतले आगामी दिनमा काँग्रेसलाई सशक्त रुपले अघि बढाउन एक ढिक्का बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त