
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको उदघाटन गर्नुहुँदै । तस्बिर – रासस
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उनले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताए ।
‘‘ठूला ठूला देशमा नभएको भाषा, सँस्कृति हामीसित छ’’, उनले भने, ‘‘हाम्रा शहर कलामय छन् । यहाँका झ्याल ढोका, भित्ता कलाले सजिएका छन् । ’’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यहाँका संस्कृति, कला, साहित्यलाई ब्युंत्याइ अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, साँस्कृतिक, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताए ।
उनले विश्वकै ‘हाइट’ र ‘लाइट’ अर्थात अग्लो शिखर सगरमाथा र लाइट अफ एसिया पनि भनिने गौतमबुद्धको जन्मभूमि नेपाल नै रहेको उल्लेख गर्दै प्रकृतिले दिएको स्वच्छताले नेपाल ज्ञानभूमि र तपोभूमि रहेको बताए । उनले प्रतिष्ठान राष्ट्रका प्रवुद्ध व्यक्तिको समूह रहेकाले यसलाई खँदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने बताए ।
अर्को वर्ष साक्षरता अभियानलाई सफल पारी मुलुकबाट निरक्षरता हटाउने उनको भनाइ थियो । उनले सबैलाई आफ्नो जीवनलाई सहज बनाउने र आजको दुनियाँसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिइनेसमेत बताए ।
नेपाल कसैको थिचोमिचो र औपनिवेशिक दबाबमा नरहेकाले अब नेपाललाई नयाँ दिशा दिन नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइने उनले बताए । प्रधानमन्त्रीले नेपाल सुशासन र विकासको युगमा प्रवेश गरिसकेको भन्दै यस अभियानमा सबै जुट्न आवश्यक रहेको धारणा समेत राखे ।
प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा गएको र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएपछि नेपाल र भारतबीचमा धेरै कुराले गति लिएको बताए । ‘‘हामीले प्रवुद्ध समूह गठन गरेर सन् १९५० को सन्धि पुनरावलोकन गरिरहेका छौं’’, उनले भने–‘‘सीमा, व्यापारलगायत क्षेत्रका समस्यासमेत समाधानको काम समेत अगाडि बढेको छ ।’’
भानुभक्त आचार्यले नेपालको राष्ट्रियता भाषिक सुत्रमा बाँध्ने काम गरेको भन्दै नेपालको भाषा र साहित्यमा उनले उल्लेखनीय योगदान पुरयाएको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधारको विकाससँगै प्राज्ञिक क्षेत्रको गतिविधि बढाएर संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । उनले पुस्तकालयले नेपाल र भारत बीचको सम्बन्धलाई साहित्यबाट जोड्न सहयोग पुरयाउने बताए ।
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको उल्लेख गदै साहित्यमा थप सम्बन्ध बढाउनका लागि पुस्तकालयले भूमिका खेल्ने बताए । उनले भारत सरकारले नेपालमा सम्पन्न गर्ने आयोजना चाँडै नै पूरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकालयले संस्कृति र साहित्यमा द्विपक्षीय सम्बन्ध स्थापित गर्ने बताए । उनले संस्कृतिको विकासका लागि प्राज्ञिक क्षेत्रको विकास आवश्यक रहेको धारणा राखे । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख वसन्तकुमार राईले कूल रु चार करोड १२ लाख २६ हजार रुपैयाँमा तीनतले पुस्तकालय भवन निर्माण गरिएको जानकारी गराए ।
कूल १२ वटा कोठा रहेको उक्त भवनमा किताब बैंक, अध्ययन कक्ष र विद्युतीय पुस्तकालय रहेका छन् । पुस्तकालयमा भाषा, संस्कृति र अन्य विषयका करीब ४० हजार पुस्तक रहेको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले जानकारी गराए ।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै प्रज्ञा छापाखानाको उद्घाटन गरे । जर्मनीबाट रु ११ करोड रुपैयाँमा खरिद गरी ल्याइएको उक्त छापाखानामा नेपाली भाषा तथा साहित्य सम्बन्धी पुस्तक छापिने प्रशासन प्रमुख अधिकारीले बताए ।
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’