आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: १३:०५ | UK Time: 08:20

बेलायती सांसदहरुको प्रतिनिधिमण्डलसँग सभामुखको भेट

वीनेपाली
२०७५ वैशाख २५ गते १४:४६

काठमाडौँ-सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलले मंगलबार शिष्टाचार भेटवार्ता गरेको छ । बेलायती सांसद निजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज सभामुख महरासँग भेटवार्ता गरेको हो । भेटमा सभामुख कृष्णबहादुर महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको भएको बताए ।

“नेपाल र बेलायतको सम्बन्ध राजनीतिकस्तरमा मात्रै सीमित छैन, जनस्तरमा समेत रहेको छ” उनले भने,“जनता–जनताबीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको छ ।” बेलायतको संसदीय प्रतिनिधिमण्डलाई स्वागत गर्न पाउँदा आफू निकै खुसी भएको भन्दै सभामुख महराले दुई देशबीचको संसदीय अनुभव आदानप्रदान गर्न भ्रमण फलदायी हुने आफूले विश्वास लिएको बताए ।

नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणाली शुरु भएको बताउँदै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षा हुने बताएको सभामुख महराको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । “हामी संघीयताको अभ्यास गर्दैछौँ, अहिले स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार सञ्चालन गरिरहेका छौँ”–उनले भने, “बेलायत र नेपालको संसदीय प्रक्रिया उस्तै उस्तै भएकाले एक अर्काको अनुभव आदानप्रदानका साथै हामी बेलायतबाट सिक्न चाहन्छौँ ।”

बेलायतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायत क्षेत्रमा लगानी गरिरहेको भन्दै सभामुख महराले यसले दुई देश र जनतासम्मको सम्बन्धलाई बलियो र नजिक बनाएको बताए ।

धेरै नेपालीहरुले गोर्खा सैनिकका रुपमा बेलायतमा सेवा गरिरहेको भन्दै सभामुख महराले उनीहरुका जायज मागहरु पूरा हुनेमा आफू विश्वस्त रहेको बताए । भेटका अवसरमा बेलायती संसदीय प्रतिनिधिमण्डलका नेता निजेल इभान्सले दुई देशको सम्बन्ध निकै समधुर र प्रगाढ रहेको बताए ।

उनले नेपाल पर्यटनका हिसाबले निकै सुन्दर देश भएको बताउँदै हरेक वर्ष थुप्रै बेलायती नागरिक नेपाल भ्रमण गर्न आउने गरेको बताए । उनले बेलायत सरकारले विभिन्न माध्यमबाट शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गर्दै आएको सहयोग निरन्तर भइरहने आफूले विश्वास लिएको बताए ।

भेटवार्तामा उपसभामुख शिवमाया तुम्वाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक