
पानमुनजोम, कोरिया, २१ चैत (योन्हाप-रासस) – दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ । ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ उन । उनले अन्तर-कोरियाली शिखर बैठकका निम्ति यही गाउँको बाटो प्रयोग गर्दैछन् ।
दुई कोरिया अर्थात् उत्तर कोरिया र दक्षिण कोरियाको विभाजनको मुख्य बिन्दु नै पानमुनजोम हो । दुई कोरियाको विभाजनको संकेत गर्ने पानमुनजोममै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली नेता किम जोन–उनबीच पहिलो शिखर बैठक हुँदैछ ।
दुई नेताबीच अन्तर–कोरियाली वार्तास्थलका रुपमा परिचित शान्ति गृहमा शिखर बैठक गर्ने योजना बनाइएको छ । यो शान्ति गृह पानमुनजोमको दक्षिणतर्फ रहेको छ र गैरसैनिक क्षेत्रभित्र रहेको यही स्थानले दुई कोरियालाई विभाजन गरेको छ ।
दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको पानमुनजोममै १९५०–५३ बीच चलेको घमासान कोरियाली युद्धपश्चात् शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतापश्चात् दुई कोरियाबीचको द्वन्द्व प्राविधिक रुपमा रोकियो तर स्थायी शान्ति भएन ।
दक्षिण र उत्तर कोरियाली सुरक्षा फौज पानमुनजोमको सानो भूभागमा आमनेसामने भएर बस्न थालेको साठी वर्षभन्दा बढी भइसक्यो । यो स्थानलाई अद्यापि संयुक्त राष्ट्रसंघीय कमाण्डले सुपरीवेक्षण गर्दछ ।
गतवर्ष नोभेम्बरमा एकजना उत्तर कोरियाली सैनिकले यही संयुक्त सुरक्षा क्षेत्र (जेएसए) को बाटो भएर नाटकीय रुपमा दक्षिण कोरियातर्फ भागे, तर उत्तर कोरियाली सैनिकले चलाएको गोली लागेर उनी घाइते भए ।
अहिले, उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबाट एक वर्षदेखि बढ्दो तनावबीच उत्तर कोरियाली नेता किमको प्रस्तावित भ्रमणको तयारी कडा सुरक्षाबीच हुँदैछ । अन्तर–कोरियाली शिखर बैठक पानमुनजोममा पहिलो पटक हुन लागेको हो । यसअघि सन् २००० र सन् २००७ मा भएका दुईवटा यस्तै शिखर बैठकहरु उत्तर कोरियाको राजधानी शहर प्योङयाङमा भएका थिए ।
पानमुनजोममा दक्षिण र उत्तर कोरियाका दुईवटा सरकारी भवन रहेका छन् । एउटा सभा हल र अर्को अन्तर–कोरियाली सीमा सञ्चारसम्बन्धी सम्पर्क कार्यालय रहेको भवन । दक्षिण कोरिया सरकारले अहिले उत्तर कोरियाली अतिथिहरुको स्वागतका लागि शान्ति गृहलाई पुनःनिर्माण गरिरहेको छ । यस भवनमा इन्टरनेटको जडान र अन्य आवश्यकीय कार्यहरु भइरहेका छन् ।
तीनतले सभा भवन रहेको शान्तिगृह सन् १९८९ मा निर्माण गरिएको थियो । जेएसएको सीमापारि उत्तर कोरियाले तोन्गिलगाक नामको यस्तै भवन सन् १९८५ मा निर्माण गरेको छ र यसलाई अन्तर–कोरियाली संवादका लागि प्रयोग गरिन्छ । सिओलस्थित एकीकरण मन्त्रालयका अनुसार, सन् १९७१ यता दुई कोरियाबीच ६५० भन्दा बढी वार्ता भएका छन् र करिब ५५ प्रतिशत वार्ता यही पानमुनजोममा भएका थिए ।
यो सम्मेलन भवनको निरीक्षणमा जान चाहने पत्रकारहरुलाई प्रवेशमा अवरोध गरिएको छ । तथापि धेरै कामदार अहिले भवनको प्रवेशद्वारलाई सजिसजाउ गर्न खटेको पाइएको छ । “यो ठूलै स्तरको पुनःनिर्माण होइन । तर मर्मत सम्भारको काममा कठिनाइ हुने भएकाले संवाददाताहरुलाई प्रवेशमा निषेध गरिएको हो,” सोलस्थित एकीकरण मन्त्रालयका एकजना अधिकारीले बताए ।
मन्त्रालयका अनुसार, प्योङयाङबाट उत्तर कोरियाली प्रतिनिधिमण्डललाई पानमुनजोन पुग्न मोटरमा तीन घण्टाभन्दा कम समय लाग्नेछ । तर, किमले खाली खुट्टाले हिँडेर वा कारमा चढेर कसरी सीमा पार गर्ने हुन् भन्ने थाहा छैन । यहाँ यिनै दुई विकल्पमात्र छन् ।
किमले चढ्ने कारले जेएससँगैको ७२–घण्टे पुललाई छिचोलेर आउने छ र किमले जेएसएमा रहेका दुईवटा अस्थायी नीला भवनहरु पार गर्नेछन् । तर, किमले यो सीमा कारबाटै पनि पार गर्न सक्नेछन् । सम्पर्क कार्यालय रहेको पानमुनगोक नजिक हुँदै शान्ति गृहसम्म कारबाटै उनी पुग्न सक्नेछन् ।
“यिनै दुईवटा सम्भाव्य मार्गहरु हुन् । तर दुई कोरियाबीचको सम्झौतापश्चात् नै कुन बाटो प्रयोग गर्ने भन्नेमा निर्णय हुनेछ,” मन्त्रालयका अधिकारीले बताए । दुवै कोरियाले सन् १९९२ मे महिनामा पानमुनजोममा सम्पर्क कार्यालय खोल्न सहमति जनाएका थिए र त्यस कार्यालयमा दुईवटा प्रत्यक्ष टेलिफोन लाइन जडान गरिएका छन् । दुई कोरियाबीच कूल ३३ वटा सञ्चार लाइन जडान गरिएको छ ।
दक्षिण कोरियाको कार्यालय फ्रिडम हाउसमा रहेको छ भने उत्तर कोरियाको कार्यालय पानमुकगाक भवनमा रहेको छ । जेएसएको सीमावर्ती क्षेत्रमा आमुन्नेसामुन्ने यी दुई भवन ठडिएका छन् ।
उत्तर कोरियाले दुई वर्षदेखि अवरुद्ध सञ्चार सम्पर्क यसै वर्षको जनवरीबाट पुनः खोलेको थियो । साथै, उत्तर कोरियाले प्योचाङमा सम्पन्न हिउँदे ओलम्पिकमा एथ्लेटिक्स खेलाडी, संगीतकर्मी र केही कलाकारलाई पठाएको थियो ।
दक्षिण कोरिया सरकारले सीमावर्ती उत्तर कोरियामा सञ्चालित काइसोङ संयुक्त औद्योगिक कम्प्लेक्स बन्द गरेको प्रतिशोधस्वरुप प्योङयाङले सीमावर्ती सञ्चार तथा सैनिक च्यानल फेब्रुअरी २०१६ मा बन्द गरेको थियो ।
हटलाइन सञ्चार सम्पर्क पुनःस्थापित भएपछि सम्पर्क अधिकारीहरु ओलम्पिकमा उत्तर कोरियाको सहभागिताका बारेमा विस्तृत विवरण संग्रह गर्न व्यस्त भएका थिए । आजभोलि, उनीहरु अप्रिल अन्त्यतिर हुने शीर्ष बैठकको बारेमा कुराकानी गरिरहेका छन् ।
बिदाका दिनहरुमा, पानमुनजोम च्यानल बिहान ९ देखि अपराह्न ४ बजेसम्म चल्छ । सप्ताहान्तमा, दुवै पक्षबीच सहमति भए सञ्चार सम्पर्क खुल्छ । “जनवरीदेखि नै सञ्चार यतिखेर बन्द हुन्छ भन्ने नै छैन । राति ७ बजेपछि पनि दैनिक सम्पर्क भइरहेको छ”- अधिकारीहरु भन्छन् ।
अनुवाद- सोमनाथ लामिछाने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग