
भक्तपुरको गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा सोमबारदेखि शुरु भएको प्रदर्शनीमा राखिएका स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा खिचेको सिंहदरबारको तस्वीर । तस्विर – रमेश गिरी, भक्तपुर रासस
भक्तपुर- पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस ।
गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि देखिने हरिया डाँडा र हिमाल । नीलो सफा पानी भएको विशाल नःपुखु । ठूलो पीपलको रुख । पोखरीको डिलमा काखीमा शिशु बोकेका महिला, कोही पानी भर्दै, कोही लुगा धुँदै ।
तस्वीरमै सीमित यी दृश्य यतिखेर भक्तपुर नगरपालिका गछेँस्थित संस्कृत संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा देख्न सकिन्छ । सत्तरी वर्षअघिको काठमाडौं उपत्यका कस्तो थियो होला भनेर उत्सुकता राख्ने तथा विगतको मौलिक बस्ती र सम्पदाका बारेमा जान्न चाहनेहरूका लागि पुरीले अवसर जुटाइदिएका हुन् ।
डा टोनी हेगनले १९५० का दशकमा कैद गरेका काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदा, पोखरी, गाउँ, नदीनाला, मठमन्दिर र बस्तीका तस्वीर प्रदर्शनी शुरु भएको छ । डा हेगनको जन्मशतवार्षिकीको अवसर पारेर हेगन हाउसमा सोमबार साँझदेखि शुरु भएको एक साता लामो तस्वीर प्रदर्शनीले नयाँ पुस्ताको धेरै जिज्ञासा मेट्न सक्छ ।
डा हेगनकी छोरी केट्रिन हेगनले उद्घाटन गरेको प्रदर्शनीपछि प्रतिक्रिया दिँदै भने, “म खुशी छु, मेरो पिताले नेपाललाई माया गरेर लिएको तस्वीर नेपालीमाझ प्रदर्शन गर्न पाइएको छ, विगतको सुन्दर नेपालबारे नेपालीहरूलाई जानकारी गराउन पाउँदा खुशी छु । यी तस्वीरहरूले पनि नेपालको इतिहास बोकेको छ ।”
काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्वसम्पदा सूचीमा रहेका दरबार स्क्वायरको करीब ६० देखि ७० वर्षअघि टोनी हेगनले लिएका तस्वीरहरू हेगनकी छोरी केट्रिनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनीमा ल्याएका हुन् ।
काठमाडौं टुँडिखेलको खुला चौर, त्यहाँबाट देखिएका हिमाल र काठमाडौंको बस्ती, धान फल्ने खेतका फाँट र ष्लेष्मान्तक वनका बीचबाट बगेको सफा वाग्मती, कहीँ कतै नछेकिने र टाढैबाट देखिने पशुपतिनाथ मन्दिर, वाग्मती नदीमाथिको पुल, पातलो बस्ती र पुराना परम्परागत घरहरू तस्वीरमा देख्न सकिन्छ ।
आरपी फाउण्डेसनका अध्यक्ष एवं सम्पदा संरक्षणकर्मी पुरीले डा टोनी हेगनले नेपालमा पुरयाएको योगदानको स्मरण गर्दै टोनी हागन हाउस बनाएर उनको शतवार्षिकीका अवसरमा तस्वीर प्रदर्शनीमा ल्याइएको बताए ।
इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले तस्विर हेरेपछि आफ्नो बालापनको याद आएको बताए । उनले भने, “बच्चा बेलामा हामी यही पोखरी, यही हनुमन्तेको पानी पिउंथ्यौं, पौडी खेल्थ्यौँ, सफा पानी बग्थ्यो, अहिले यो नदीमा ढल बग्छ, मन साह्रै दुख्छ, हामी खेल्ने सम्पदाका आँगनहरू अहिले कुरुप भएका छन्, त्यतिबेला टाढैबाट देखिने सम्पदा, मठ मन्दिर, अहिलेको घना बस्तीले छोपेको छ, कुरुप बनाएको छ ।”
प्रदर्शनीमा राखिएका ५० तस्वीरले त्यसबेलाको काठमाडौँ उपत्यकालाई हुबहु उतार्न खोजेका छन् । प्रदर्शनी यही चैत १८ गतेसम्म चल्नेछ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?