नयां पुस्ता सञ्जाल विस्तारमा, पुरानो भने पद र खादामै

तस्विर सौजन्य- सामुयल राई

लन्डन । बेलायतको पहिलो नेपाली पुस्ता पद, प्रतिष्ठा र खादा 
संस्कृतिमा अल्झिरहंदा बेलायती विश्वविद्यालयमा अध्ययनरत दोश्रो नेपाली पुस्ता भने सामाजिक रुपान्तरणको सोचले अगाडि बढेको 
छ । उमेर हेर्दा लाग्छ उनीहरु बेलायती खुल्ला समाजमा अभ्यस्त भइसके, यतै रमाएका छन् । ति तन्नेरी मातृभूमिबाट पुरै बेखवर छन् तर वास्तविकता त्यस्तो छैन् ।

‘मर्जिङ नेपसक्स’ नामक अभियान थालनी गरेर बेलायतका विभिन्न विश्वविद्यालय अध्ययन गरिरहेका अण्डर ग्रयाजुएटस, पोष्ट ग्रयाजुएटस तथा फरक पेशा अंगालेका नेपाली तन्नेरीहरु व्यवसायिक तथा प्राज्ञिक सञ्जाल विस्तारमा जुटेका छन् ।

गैर राजनीतिक भनिएको उक्त अभियानमा आवद्ध युवाले सामाजिक परिवर्तनशीलता तथा आफूहरुमा भएको सिप र ज्ञान स्वदेश भित्रयाउने लक्ष्य बोकेका छन् । स्वदेशमा बढिरहेको ‘ब्रेन ड्रेन’ (वौद्धिक खडेरी) न्यूनीकरण गर्ने उद्देश्य ति युवाको छ । विभिन्न गतिविधिमार्फत बेलायतस्थित नेपाली डायस्पोराको स्तरन्नोति गर्न भरयाङको रुपमा काम गर्ने अठोट समेत उनीहरुले लिएका छन् ।

गत अक्टोबर २०१७ मा अभियान शुभारम्भ भएयता ५ महिना अवधिमा ४० विश्वविद्यालयभित्र गठन भएका नेपाली विद्यार्थीहरुको सोसाइटीसम्म अभियान फैलिइसकेको छ । विभिन्न विश्वविद्यालयका नेपाली सोसाइटीमा गरिएको प्रिजेन्टेसनले आफ्नो सञ्जाल दिनप्रतिदिन बढिरहेको अभियानमा आवद्ध युवाले बताएका छन् । उक्त अभियानमा आफ्नो क्षमता अनुसार जो सुकै पनि सामेल हुन सक्ने र यसको कुनै कमिटी गठन भइनसकेको त्यसमा सक्रिय एकजना युवा समिर गुरुङले जानकारी दिए । आफूहरु परामर्श योजना, त्रैमासिक पत्रिका प्रकाशन र सन्तुलित कमिटी बनाउने गृहकार्यमा भने जुटिरहेको गुरुङले बताए ।

उक्त अभियानमा आवद्ध युवाहरुले गत सप्ताहन्त (२४ मार्चमा) डायमण्ड बैंक्यूटिङ सुइट उल्भरहयाम्पटनमा पहिलो औपचारिक टयालेन्ट शो गरे ।

करिब चार सय युवा सहभागी उक्त कार्यक्रममा २० विश्वविद्यालयका नेपाली सोसाइटीको प्रतिनिधित्व गर्दै युवाहरुले नृत्य, नाटक, प्रवचन, गायन, संगीत आदि क्षेत्रमा आ आफ्नो खुबी प्रस्तुत गरे । उक्त कार्यक्रम समिर गुरुङ, टिना तामाङ र पवन कंडेलले ‘होस्ट’ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री