प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन

पोखरामा बुधबार प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठक । तस्वीर – हरि बास्तोला, पोखरा, रासस

पोखरा, १४ चैत – प्रदेश नं ४ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन गरेको छ ।

बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले समितिको संयोजकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहनुभएको बताउनुभयो ।

त्यस्तै समितिका सदस्यमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव रहनुभएको छ ।

बैठकले विभिन्न समितिमा हेरफेरसमेत गरेको प्रवक्ता बस्नेतले बताउनुभयो ।

उहाँकाअनुसार आर्थिक समितिको संयोजकको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई दिइएको छ भने प्रशासन तथा विधेयक समितिमा भौतिक पूर्वाधार विकास मन्त्रीलाई सदस्यका रुपमा थप गरिएको छ ।

कानून मस्यौदा समितिको सदस्यमा भौतिक पूर्वाधार मन्त्रीलाई थपिएको छ भने विधेयक पेश गर्ने मन्त्रालयका मन्त्री र सचिवलाई आमन्त्रित गरिएको छ । आर्थिक विषय जोडिएका विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री र सो मन्त्रालयका सचिव रहनुहुनेछ ।

मुख्यमन्त्रीबाट प्रदेश सभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तयार गर्न आर्थिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा गठित समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री सदस्य रहने प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

राजनीतिक समितिमा भने सबै मन्त्री सदस्यका रुपमा रहने उहाँले जानकारी दिनुभयो ।

लमजुङको सुन्दरबजारमा भएको मध्यपहाडी लोकमार्गसम्बन्धमा भएको विवाद र गोरखाको धार्चे र भीमसेन गाउँपालिकामा भएको विवाद समाधान गर्न गठित समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा अभिलेखीकरण गर्ने र प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखरे पठाउने निर्णय गरेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री