लन्डन असुरक्षित बन्दै

लन्डन- गत १४ मार्चका दिन पूर्वी लन्डनको च्याडवेल हिथमा एकजना टिनएजर युवा लाइनडोन डेभिस छुरा प्रहारबाट मारिए । लन्डनमा हत्याको श्रृंखला बढिरहंदा उनी यस वर्ष छुरा प्रहार (नाइफ क्राइम) बाट मारिने ७ औं व्यक्ति थिए ।

त्यही सांझ पूर्वी लन्डनमा बेग्लै घट्ना घट्यो । कारमा बसिरहेका बेला वाल्थमस्टोमा २० वर्षीय जोसेप टोरेस गोली प्रहारबाट मारिए । उक्त घट्नामा एक १५ वर्षीय युवालाई हत्या अभियोग लगाइएको छ भने अर्को एक जना समातिएका छन् ।

गत मार्च १७ शनिबार सबेरै २३ वर्षीय रसेल जोन्सले इनफिल्ड सपिङ परेडबाहिर छुरा प्रहारबाट ज्यान गुमाए भने अर्को एक मानिस गम्भीर अवस्थामा उपचाररत छन् । त्यही बिहान पूर्वी लन्डनको होमरटनमा ४२ वर्षीय टाइरोन सिल्कोटलाई चक्कु हानेर मारियो । सेन्ट प्याट्रिक डे पार्टीपछि उक्त घट्ना भएको थियो । घट्नामा एक २८ वर्षीय युवालाई हत्या अभियोग लगाइएको छ ।

उता, गत आइतबार हिथ्रो विमानस्थल नजिकको एक होटलमा ३६ वर्षीय हर्सी पनि छुरा प्रहारको शिकार भए । सोमबार राती उड 
स्ट्रिट स्टेशननजिक वाल्थमस्टोमा ४० वर्षीय अधवैंसे मानिस छुरा प्रहारबाटै मारिए ।

अपराधका थप घट्ना छन् । स्लाउ निवासी ४८ वर्षीय बलबीर जोहल लन्डन साउथहलमा छुरा प्रहारबाट दिवंगत भए । यस घट्नामा दुई पुरुषलाई हत्या अभियोग लगाइएको छ । उता मंगलबार राती पूर्वी लन्डनको स्ट्राटफोर्ड सेन्टरमा आफ्नो साथीलाई बचाउन खोज्दा २० वर्षीय रोमानियन युवा बेन्जामिनलाई चक्कु हानेर मारियो ।

माथिका यी पछिल्ला घट्नाले लन्डनमा अपराध बढिरहेको प्रष्टयाउंछ । बेलायतको राजधानी लन्डनमा सात दिनभित्र ८ जना मारिएपछि 
यसप्रति चिन्ता व्याप्त छ । बीबीसीका अनुसार, यस वर्ष जनवरी यतामात्र कुल २६ जनाको छुरा प्रहारबाट हत्या भएको छ । ति मध्ये ६ जना टिनएजर थिए भने अधिकांश कालो वर्णका ।

छुरा प्रहारका घट्ना वृद्धि भइरहंदा अपराध न्यूनीकरण गर्ने प्रयास स्वरुप गृह मन्त्रालय (होम अफिस) ले विज्ञापन अभियान नै शुरु गरेको छ । इंग्ल्याण्ड र वेल्समा सत्य घट्ना समावेश गरि होम अफिसले १ दशमलव ३५ मिलियन पाउण्ड लागतको विज्ञापन अभियान शुरु गरेको हो । सोसल मिडिया, डिजिटल टिभी च्यानल र पोस्टरमार्फत ६ सातासम्म सार्वजनिक गरिने उक्त विज्ञापन १० देखि २१ वर्षका युवामा लक्षित छ ।

गृह अधिकारीले भनेका छन्, दि ‘नाइफ फ्रि’ विज्ञापनमा विगतमा त्यस्तो अपराधमा संलग्न युवाहरुका सत्य घट्नालाई समावेश गरिएको छ जहां ति युवाले अब देखि चक्कु नबोक्ने प्रतिज्ञा गर्दै अरुलाई पनि 
सकारात्मक सन्देश दिएका छन् । गत वर्षको तुलनामा यस वर्ष जनवरी यता अपराधिक हिंसाका घट्ना दोब्बर भइरहंदा यस्तो अभियान थालिएको हो ।

सन् २००८ मा एक १६ वर्षीय किशोरको छुरा प्रहारबाट मृत्यु भएपछि उनकै नाममा खोलिएको च्यारिटी बेन किनसेला ट्रष्टका प्रमुख कार्यकारी प्याट्रिक ग्रीन युवाहरुमा चक्कु बोक्दा हुने खतराबारे सजग गराउन अत्यावश्यक रहेको बताउंछन् । ‘सरकारी अधिकारीहरुले युवालाई चक्कु बोकेर हिंड्दा हुने खतराबारे पर्याप्तमात्रामा शिक्षित बनाएका छैनन् । हामी संकटको बिन्दूमा छौं’, ग्रीनको चिन्ता छ, ‘हामीले क्रमशः अपराध बढिरहेको देखेका छौं र यसले झन् विकराल रुप लिन सक्छ ।’

मेट पुलिसका असिस्टेन्ट कमिश्नर मार्टिन हेविट भने छुरा प्रहारबाट हुने अपराध न्यूनीकरणका लागि प्रहरीले उल्लेख्य कदम चालेको 
बताउंछन् ।

लन्डनमा बढेको असुरक्षाले लन्डनकी उपमेयर सोफी लिन्डेनलाई पनि चिन्ता छ । उनी युवाहरुमा धारिलो हतियार बोकेर हिंड्नु सामान्य बन्दा छुरा प्रहारबाट हुने अपराध भविष्यमा झन् विकाराल हुन सक्ने बताउंछिन् । सन् २०२१ सम्म मेट्रोपोलिटन पुलिसलाई ३२५ मिलियन पाउण्ड वार्षिक वचत गर्नुपर्ने भएकाले पनि लन्डनवासीको सुरक्षा चिन्ता बढेको सोफीले इभिनिङ स्टयाण्डर्ड अखबारसंगको अन्तरवार्तामा व्यक्त गरेकी छन् ।

नेपाली समुदाय भने यस्तो अपराधबाट अलग छ । लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण ‘नाइफ क्राइम’ मा नेपाली युवाको संलग्नता नपाइएको बताउंछन् । ‘अपराधिक क्रियाकलापबाट टाढै रहनु बुद्धिमानी हुन्छ’, आरणले भने, ‘विशेषगरि रातको समयमा यस्ता घट्ना बढि हुने भएकाले काम वा पार्टीबाट फर्कंदा आफू पनि सचेत रहनुपर्छ ।’ इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री