मन्त्रालयको सांगठनिक संरचना प्रतिवेदन मन्त्रिपरिषद्मा पेश

तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौं, १३ चैत – नयाँ पुनःगठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार पारिएको प्रतिवेदन स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुराना मन्त्रालयबाट पुनःगठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार पारी प्रतिवेदन पेश गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासकीय सुधार शाखाका प्रमुख खगराज बरालले जानकारी दिए ।

पुनःगठित मन्त्रालयको संरचनासहितको प्रतिवेदन सोमबार मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको हो । पेश गरिएको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नयाँ मन्त्रालयको नयाँ संरचना बनाइने प्रमुख बरालले बताए ।

प्रतिवेदनमा मन्त्रालयमा चाहिने विभाग, महाशाखा, शाखाको स्वरुपसहित आवश्यक कर्मचारीको पनि संख्या उल्लेख गरिएको छ ।

मन्त्रालयको सांगठनिकस्वरुप तयार पार्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा संगठन तथा व्यवस्थापन समितिसमेत गठन गरिएको थियो । समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिव, अर्थ मन्त्रालयका एक सहसचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र सम्बन्धित मन्त्रालयका सहसचिव रहनुभएको थियो ।

प्रतिवेदनअनुसार मन्त्रालयको पुनःगठन गर्नका लागि छ महिनाको समय लाग्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवराम न्यौपानले बताए ।

सरकारले ३१ वटा मन्त्रालयबाट पुनःगठन गरेर २१ मन्त्रालय कायम गरेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री