काठमाडौँ-राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका गणेश तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार, राष्ट्रियसभा अध्यक्ष पदको मनोनयनका लागि तोकिएको समयावधिभित्र तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको हो ।
एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ४ का सह-संयोजकसमेत रहेका तिमिल्सिनाको प्रस्तावकमा एमालेकै खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा तथा एमालेका सुमनराज प्याकुरेल छन् । राष्ट्रियसभाको बैठक यही फागुन ३० गते अपराह्न १३.०० बजे बस्ने कार्यक्रम छ ।
तिमिल्सिनाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने छन् । प्रवक्ता डा गौतमका अनुसार फागुन ३० गते हुने राष्ट्रियसभाको बैठकमा उनलाई अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरिनेछ ।
प्रतिनिधिसभाका सभामुखमा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा यही फागुन २६ गते शनिबार निर्वाचित भइसकेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको उपसभामुख पदमा आगामी चैत २ गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ ।
यसअघि एमालेका शीर्ष नेताको बैठकले तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।राष्ट्रियसभाका अध्यक्षमा निर्विरोध निर्वाचित भएका गणेश तिमिल्सिना पर्वतको मोदी गाउँपालिकाका बासिन्दा हुन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रविणता तहमा अध्ययन गर्दै गर्दा विसं २०३६ मा विद्यार्थी राजनीतिमा होमिएका तिमिल्सिना पर्वतको मोदी गाउँपालिका–७ मा विसं २०१८ जेठ १२ गते जन्मिएका हुन् ।
गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको तिमिल्सिना विद्यार्थी जीवनदैखि नै प्रगतिवादी सोचका साथ विसं २०३६ मा नेकपा (माले) को रेडगार्डको सचिवसमेत भएका थिए । विसं २०३७ मा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निर्वाचित तिमिल्सिनाले विसं २०४० मा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरे ।
पार्टी राजनीतिको शुरुआतसँगै सक्रिय राजनीतिमा आएका तिमिल्सिना विसं २०४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र विसं २०४२ मा अनेरास्ववियुको आठौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भएका थिए । तत्कालीन सरकारविरुद्ध विद्रोहको उद्घोष गर्दै विसं २०४२ को बम काण्डपछि तिमिल्सिनाले चार वर्ष जेल जीवन बिताए । तत्कालीन सरकारले विसं २०४२ देखि ०४६ सम्म लगातार चार वर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।
उनीसँगै जेलमा कम्युनिष्ट नेता केपी शर्मा ओली र हीतकाजी गुरुङ रहेका थिए । ओली अहिले देशको प्रधानमन्त्री र एमाले अध्यक्षको जिम्मेवारीमा छन । विसं २०४६ मा जेलबाट छुटेका उनी प्रजातन्त्र बहालीको आन्दोलनमा पुनःसक्रिय रहे । विसं २०४६ को जनआन्दोलनमा संयन्त्र सदस्य बनेका उनी पुनःपञ्चको निशानामा परे । उनलाई तत्कालीन सरकारले पक्राउ गरी ल्याउन टाउकाको मूल्य रु ५० हजार तोकेको थियो ।
अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी उनी विसं २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए । दोस्रो बैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बनेका तिमिल्सिना केन्द्रीय सदस्य हुँदा प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष थिए । विसं २०४७ मा नेकपा माले मुस्ताङका सचिव, ०४८ मा नेकपा एमाले बागलुङका सचिव, विसं २०५४ मा नेपालगञ्जमा सम्पन्न नेकपा एमालेको छैटौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुँदै धौलागिरि अञ्चल इञ्चार्जको जिम्मेवारीसमेत उनले सम्हालिसकेका छन् ।
विसं २०५९ मा जनकपुरमा सम्पन्न नेकपा एमालेको सातौँ महाधिवेशनपछि केन्द्रीय सल्लाहकार समिति सदस्य र विसं २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका तिमिल्सिना पर्वत जिल्ला संयोजकका रुपमा पार्टीको जिम्मेवारी पनि सम्हालेका थिए । उनी पर्वत जिल्लाको पूर्वजिविस सभापति पनि रहेका थिए ।
काठमाडौँमा भएको नवौँ महाधिवेशनपछि पुनःकेन्द्रीय सदस्य हुँदै अहिले उनी एमालेको पोलिटब्यूरो सदस्यसमेत हुन् ।