पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौँमा, अर्थमन्त्रीद्वारा स्वागत

पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई स्वागत गर्दै नेपाल अर्थमन्त्री डा. खतिवडा । तस्वीर- रासस

काठमाडौं -इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार अपराह्न काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आएका हुन्।

पाकिस्तानी सेनाको विशेष विमानबाट काठमाडौं आएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे । विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात रिजेन्सी गएका थिए । अाइतबार नै प्रधानमन्त्री अब्बासीको सम्मानमा राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारत (गार्ड अफ अनर) प्रदान गरेको छ ।

त्यगैगरी, आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका विषयमा विचारविमर्श गर्नेछन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा भोलि बिहान शिष्टाचार भेट गर्नेछन । राष्ट्रपतिसँगको भेट अघि उनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुने कार्यक्रम छ । नेपालको दुई दिने भ्रमण पूरा गरी भोलि नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री