फागु पूर्णिमामा कलाकार र विदेशी यसरी रंगिए (फोटो फिचर)

काठमाडौँमा फागु पर्वका अवसरमा बिहीबार होली खेल्दै कलाकार भुवन केसी । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, १७ फागुन – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

ललितपुरको गोदावरीस्थित नायिका करिश्मा मानन्धरको घरमा होली खेलेर रमाइलो गर्दै कलाकारहरु । तस्वीर – नारायण ढुंगाना, रासस

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।

काठमाडौँमा फागु पर्वका अवसरमा प्रशंसकका साथमा कलाकार । तस्वीर – नवीन पौडेल, रासस

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँड्डुल गर्न सकेको ललितपुर महानगरबाट वसन्तपुर कार्यालयमा आउनुभएकी मनिता महर्जनले सुनाउनुभयो ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाउँछन् ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।

काठमाडौँको ठमेलमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गरी होली खेल्दै स्वदेशी तथा विदेशी युवायुवती । तस्वीर – रासस

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

काठमाडौँको ठमेलमा फागु पर्वका अवसरमा बिहीबार एकआपसमा रंग दलेर खुशी साटासाट गरी होली खेल्दै स्वदेशी तथा विदेशी युवायुवती । तस्वीर – प्रदीपराज वन्त, रासस

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुण्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ ।

काठमाडौँको बसन्तपुरमा फागु पर्वका अवसरमा बिहीबार होली मनाउनेको भीड । तस्वीर – रोशन सापकोटा, रासस

यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।

यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोशाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ ।

इटलीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।

यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

प्रधानमन्त्रीद्वारा फागुको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ – “फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह, उमंग ल्याओस् । सम्पूर्ण नेपालीमा हौसला प्रदान गरोस् । सबै समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सहयोग पुरयाओस् ।”

शुभकामना सन्देशमा उहाँले होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रुपमा लिइने पनि उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिबाट होलीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पुरयाउँदै आएको बताउनुभएको छ ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै उहाँले यस महान् पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले यस पर्वले संप्तरंगी जस्तै समृद्धिका विभिन्न आधारहरुको तीव्र विकासका माध्यमबाट प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई होलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरी र उहाँकी धर्मपत्नीले आज प्रधानमन्त्री निवासमा भेटेर होली पर्वको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सांस्कृतिक समानतायुक्त शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध र पारस्परिक आत्मीयता प्रकट गर्दै फागुपूर्णिमाको शुभकामना आदानप्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

होली पर्वलाई आपसी प्रेम, सद्भाव, मैत्री र घनिष्टता अभिवृद्धि गर्ने पर्वका रुपमा नेपाल र भारतभर मनाउने प्रचलन छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री