काठमाडौँ-सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन् ।
सिरियामा गरिएको पछिल्लो आक्रमणको भत्र्सना गर्दै शान्ति स्थापना गराउने कार्यमा प्रभावकारी भूमिका निभाउन राष्ट्रसंघ समेतलाई आह्वान गरिएको अनेरास्ववियूका अध्यक्ष नवीना लामाले जानकारी दिइन् ।
राष्ट्रसंघको सुरक्षा परिषद्ले ३० दिने संघर्ष विरामको प्रस्ताव पारित गरेको केही घण्टा नबित्दै सिरियामा शुरु भएको हिंसात्मक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिरियामा पछिल्लो समय सरकार र विद्रोही दुवै पक्षले प्रयोग गरिरहेको रसायनिक हतियारको प्रयोग रोक्न माग गरिएको पनि अध्यक्ष लामाले बताइन् ।
विज्ञप्तिमा राष्ट्रसंघको युद्ध विराम प्रस्तावलाई सहर्ष स्वीकार गर्दै दुवैको तर्फबाट भइरहेको आक्रमण रोकेर समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिएको छ ।
सिरियाका निर्दोष नागरिक बचाउन माग गर्दै संयुक्त राष्ट्र संघमा पत्र
मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहारको अन्त्य गर्न माग गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सिरिया भइरहेको बमबारी र नरसंहार अविलम्ब रोक्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्द्वारा पारित युद्वविरामको प्रस्तावलाई तत्काल लागू गरी त्यहाँको जनताको जीवनरक्षाका लागि स्थायी शान्ति कायम गर्न सिरियाली सरकार र विद्रोहीलाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।
सोही क्रममा राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशलाई सम्बोधन गरिएको ज्ञापन पत्र नेपालस्थित कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सिरियालगायत एशिया र अफ्रिकाका आधा दर्जन देशमा मानवताविरुद्धको अपराध बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले राष्ट्र संघको प्रभावहीनताका कारण सिरियाको निर्दोष नागरिक मारिएको बताउँदै उक्त घटनाले मानवता छियाछिया भएकामा दुःख व्यक्त गरे ।
प्रदर्शनमा राष्ट्रसंघीय युद्धविराम प्रस्ताव लागू गर, बमबारी र नरसंहार बन्द गर, महिला, बालबालिकामाथिको अत्याचार बन्द गर, निर्दोष नागरिकको हत्या बन्द गरलगायतका सन्देश प्रवाह गरिएको थियो ।