
काठमाडौँ, १५ फागुन – नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ ।
दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते नेपालको संविधानको धारा ९३ (१०) बमोजिम गर्नुभएको आह्वानअनुसार यही फागुन २१ गते अपराह्न ४ बजेका लागि दुवै सदनको बैठक बस्नेछ ।
संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दुवै सदनका सदस्यको शपथ र पहिलो बैठकको तयारीमा आफूहरु रहेको जानकारी दिनुभयो । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुनुहुन्छ । दुवै सदनको संयुक्त रुपलाई संघीय संसद् भनिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ । गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ
संघीय संसद्का नवनिर्वाचित सदस्यको पहिलो बैठकको अघिल्लो दिन फागुन २० गते शपथ ग्रहण कार्यक्रम हुनुपूर्व दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शीतल निवासमा शपथ लिनुहुनेछ । प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । उहाँहरुलाई सम्बन्धित सदनका ज्येष्ठ सदस्यले शपथ दिलाउनुहुनेछ । सभामुख अध्यक्षको निर्वाचन नभएसम्म उहाँहरुले नै बैठकको अध्यक्षता गर्नुहुनेछ ।
प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य हुनुहुन्छ । राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरुको शपथ नहुने भएको छ ।
अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो । फौजदारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उहाँहरु आएमा शपथ लिन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताउनुभयो । फागुन २० गते सम्बन्धित सदनको बैठक कक्षमा प्रतिनिधिसभाका सदस्यले अपराह्न ४ र राष्ट्रियसभाका सदस्यले ५ बजे शपथ लिनुहुनेछ ।
थारुदेखि हिन्दी भाषामा शपथ
संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले उक्त भाषाबारे जानकारी दिने क्रम जारी छ । संघीय संसद्का सदस्य अनिलकुमार झाले हिन्दी, प्रदीप यादव र हरिनारायणप्रसाद रौनियारले भोजपुरी, मोहमद इस्तियाक राईले अवधी तथा शान्ता चौधरी र गंगा चौधरी सत्गौवाले थारु भाषामा शपथ लिने जानकारी दिनुभएको छ ।
कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ ।
कार्यसूचीका लागि छलफल बुधबार
प्रवक्ता डा गौतमका अनुसार पहिलो बैठकको तयारीका लागि बुधबार अपराह्न २ बजे सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्श हुनेछ । कार्यसञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने भएकाले सचिवालयले त्यसको मस्यौदा तयार गरेको छ ।
मस्यौदालगायत अन्य कार्यसूचीबारे दलसँग छलफलपछि कार्यसूची बन्नेछ । एकै दिन एकै समयमा दुवै सदनको बैठक आह्वान भए पनि ती सदनको बैठक अलग अलग रुपमा सम्बन्धित सदनको कक्षमा बस्नेछ ।
सभामुख–अध्यक्षको निर्वाचन तयारी
संविधानमा संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष फरक दल र फरक लिङ्गको व्यक्ति हुनुपर्ने प्रावधान छ ।
दुई दलको समर्थनमा प्रधानमन्त्रीको नियुक्ति भएकाले नियुक्तिको ३० दिनभित्र अर्थात् आगामी चैत ३ गतेभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि सचिवालयले आवश्यक तयारी गरेको प्रवक्ता डा गौतमले बताउनुभयो ।
व्यवस्थापनमा रु साढे तीन करोड
सचिवालयले दुवै सदनको सभाकक्ष निर्माण, मर्मत र माइक व्यवस्थापनका लागि रु तीन करोड ५० लाख बजेट पाएको छ । सचिवालयले एक वर्षअघि नै अध्ययन गरी अर्थ मन्त्रालयसँग माग गरेबमोजिम सो रकम निकासा भएको हो । सचिवालयले सिट व्यवस्थापन, माइक प्रणाली व्यवस्थापन, सञ्चार कक्ष, राष्ट्रियसभाका अध्यक्ष-उपाध्यक्षको कक्ष र कार्यव्यवस्था परामर्श समितिको बैठक व्यवस्थापन गरिसकेको छ ।
दुवै सदन सञ्चालनका लागि सचिवालयसँग हाल ३५० जनशक्ति कायम रहेको र थप ७५ कर्मचारी पदपूर्तिका क्रममा रहेकाले जनशक्तिको कमी नहुने उहाँले जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो