प्रदेश नं. ५ प्रदेशसभाको बुधबार बसेको प्रदेशसभा बैठकले सभामुखमा सर्वसम्मत निर्वाचित पुर्णबहादुर घर्ती संसदीय दलका नेता शंकर पोखरेलसहित प्रदेशसभा भवनबाट बाहिरिँदै । तस्वीर – भरत के.सी., बुटवल, रासस
बुटवल, २ फागुन – प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।
सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन हुनुभएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गर्नुभएको थियो ।
आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।
रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीय बासिन्दा हुनुहुन्छ । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराको रुपमा २०२४ असार २९ गते उहाँको जन्म भएको हो । उहाँकी श्रीमती सीता आचार्य र एक छोरी लिचुन घर्ती मगर हुनुहुन्छ ।
विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लाग्नुभएका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेबारी सम्हाल्नु भएको थियो । पछिल्लोपटक उहाँ नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएको थियो ।
साहित्य र जनवादी गीत संगीतमा दख्खल राख्नुहुने घर्तीले २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
आजको बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मितिसमेत तोकेको छ । अर्को संसद् बैठक फागुन ६ गते १ बजे बस्ने भएको छ ।
सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
उहाँले मुलुकमा संघीय गणतन्त्र स्थापना भएको अवस्थामा नयाँ जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले अहिले कार्य क्षेत्र फरक भएको जनताप्रति, राष्ट्रको समृद्धिप्रति र जनताको अधिकारलाई सुनिश्चित गर्ने अभिभारा पूरा गर्ने प्रतिबद्धता नै पहिलो हुने बताउनुभयो ।
सभामुख घर्तीले प्रदेश नं ५ को विकासका लागि समृद्धि नै मुख्य हुने बताउँदै त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउदै सबैको सामूहिक चाहना र प्रतिबद्धता रहने बताउनुभयो ।
उहाँले प्रदेश नं ५ मा समृद्धिका मुख्य आधार जल, जमिन, कृषि, पर्यटनलगायत ऐतिहासिक धरोहरमा यो प्रदेश धनि भएको त्यसलाई संरक्षण, संवद्र्धन गरेर योजनावद्ध विकासका खाका बनाएर काम गर्न सकिने बताउनुभयो ।
सभामुख घर्तीले प्रदेश नं ५ को स्थायी राजधानी जनतालाई सहज हुनेगरी सबैको सहमतिमा यसको टुंगो लगाइने समेत स्पष्ट पार्नुभयो ।
नवनिर्वाचित सभामुख घर्तीलाई आजनै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको शपथ गराउनु हुनेछ । शपथ ग्रहण समारोह प्रदेश प्रमुखको सचिवालयमा अहिले बेलुका ४.३० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो ।
प्रदेश नं २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित
जनकपुरधाम, २ फागुन – प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो । निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरू भएको बैठकमा अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउदै यादवलाई निर्विरोध घोषणा गर्नुभएको थियो ।
बैठक १.४५ देखि १.५५ सम्म बसेको थियो । बैठकमा ज्येष्ठ सदस्य चौधरीले सभामुखको निर्वाचनको प्रस्तावका लागि प्रदेशसभा सदस्य एंव राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता जीतेन्द्रप्रसाद सोनारलाई अनुमति दिएपछि उहाँले यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो, भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले सो प्रस्तावको समर्थन गर्नुभएको थियो ।
बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि,२०७४को दफा ७ को उप दफा (१) बमोजिम प्रदेशसभाको उपसभामुखको निर्वाचन यही फागुन ४ गते निर्धारण गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन ४ गते दिउँसो १.०० बजे बस्ने छ ।
निर्विरोध निर्वाचित हुनुभएका सभामुख यादवले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको सहयोग लिई कार्य सम्पादनलाई प्रभावकारी बनाउने बताउनुभयो । आफू निष्पक्ष, कानूनसम्मत् ढंगले कार्य गर्ने बताउदै उहाँले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबै पक्षको अग्रसरतामा जोड दिनुभयो । स्थायी राजधानीका बारेमा सभाले यथाशीध्र निर्णय गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत नियुक्त
प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा नियुक्त संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले बुधवार फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिनुभएको हो । तस्वीर – अजयकुमार साह, महेन्द्रनगर (धनुषा), रासस
महेन्द्रनगर धनुषा, २ फागुन – प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त हुनुभएको छ ।
राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।
कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिनुभएको छ । योसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि राउतले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो–’मधेसी शहीदको सपना साकार भएको छ ।’
फोरम नेपालको संसदीय दलका नेता समेत रहेका राउतले बिहीबार शपथग्रहण गर्नुहुने छ । पर्साबाट प्रदेशसभामा निर्वाचित राउत संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनुभएको छ ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।