
नेपाली सेना सैनिक कल्याणकारी बोर्डद्वारा मध्य पृतना हेडक्वाटर चितवनमा आइतबार आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा अपाङ्गता भएका भूपू सैनिकलाई ह्विल चियर प्रदान गर्दै प्रधान सेनापति राजेन्द क्षत्री । तस्बिर- कालिका खड्का, रासस
चितवन, २१ माघ – नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली सेना सैनिक कल्याणकारी बोर्डको आयोजनामा श्री मध्य पृतना हेटक्वाटर चितवनमा आयोजित सम्मेलनको प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले देशको सार्वभौमक्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा गर्दै आएको र सदैव रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सरकारले दिएको सबै खालका जिम्मेवारीले नेपाली सेनाले पूरा गर्दै आएको र संस्थाको छविलाई थप उचाइमा प¥याउन सेनाको भूमिका निरन्तर रहेको उल्लेख गर्नुभयो ।
प्रधानसेनापति क्षत्रीले नेपालको संविधानअनुसार प्रादेशिक नेपाली सेनाको संरचना तयार गरी जिम्मेवारी पूरा गरिरहेको र तीनै तहको निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सफलतापूर्वक सम्पन्न गर्न पाउँदा गौरवान्वित अनुभूति गरेको बताउनुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन नेपाली सेना सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले उत्तरी नाका र जिल्ला सदरमुकाम जोड्ने र काठमाडौँ–तराई निर्माण द्रुतमार्ग निर्माणजस्तो राष्ट्रिय गौरवको काम सुम्पेको छ, यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएका छौँ ।”
नेपाली सेना सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत तथा अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले भूपू सैनिको आर्थिक उन्नति र समृद्धिका साथै भूपू र बहालवाला सैनिकबीच सुमधुर सम्बन्ध बनाउन सम्मेलन जरुरी रहेको बताउनुभयो ।
अवकाशप्राप्त पूर्वरथी बालानन्द शर्माले कल्याणकारी कोषबाट भूपू सैनिकको सामाजिक जीवन उकास्ने हुँदा लघुउद्यम कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘आर्थिक प्रगति, समुनति र सर्वोपरि हितका लागि काम गरौँ’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनको मुख्य उद्देश्य भूपू सैनिकको जीवनमा सैनिक कल्याणकारी कार्यबाट थप ऊर्जा ल्याउन, आपसमा भेटघाट गर्नु, अनुभव सुन्नु र प्रेरणाले अघि बढ्नु रहेको थियो ।
नेपाली सेनाले विश्व शान्तिका स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेना सहभागी आएर आएको रकमबाटै सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।
विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट कोषको औपचारिकरुपमा स्थापना गरिएको हो । २०७४ पुस मसान्तसम्म कोषमा कूल रु ४२ अर्ब तीन करोड ३८ लाख ६९ हजार रहेको छ ।
१०३ वर्षे भूपू सैनिक अभिनन्दित
नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा १०३ वर्षका ज्येष्ठ भूपू सैनिकलाई गणेशबहादुर अधिकारीलाई प्रधानसेनापति क्षत्रीले दोसल्ला र प्रमाणपत्रबाट अभिनन्दन गर्नुभयो ।
भूपू सैनिक अधिकारीले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड सैनिकमा बिताएको र त्यो कार्यको सम्मानस्वरुप आफूलाई अभिनन्दन गरेकामा खुशी व्यक्त गर्नुभयो । भूपू सैनिकमध्ये अहिलेसम्मकै ज्येष्ठ अधिकारी नै हुनुहुन्छ ।
लघुउद्यम गर्नेलाई कोषबाट कर्जा
सम्मेलनमा प्रधानसेनापति क्षत्रीले लघुउद्यम गर्ने भूपू र बहालवाला सैनिकलाई रु एकदेखि सात लाखसम्मको चेक हस्तान्तरण गर्नुभयो । लघुउद्यम गर्नेमा भूपू सैनिक पाँच, बहालवाला सैनिक पाँच र उत्कृष्ट व्यवसाय गरिरहेका पाँच जनालाई सो चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा लघुउद्यम सञ्चालन गरेर राम्रो गर्नेलाई सम्मानसमेत गरिएको थियो । नेपाली सेना सैनिक कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको समझदारीमा लघुउद्यम कार्यक्रम सञ्चालनमा आएको छ ।
‘अस्पताल चाहियो’
नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा भाग लिन आएका भूपू सैनिक र सैनिक परिवारले प्रधानसेनापति क्षत्रीसँग प्रत्यक्ष भेटवार्ता गरी काठमाडौँ उपचार गर्न टाढा भएकाले चितवनमा सैनिक अस्पताल बनाउन माग गरेका थिए ।
प्रधानसेनापति क्षत्रीले सैनिकको चाहना र आवश्यकताअनुसार औषधोपचारलाई विकेन्द्रीकरण गरेर लैजाने उद्देश्यका साथ प्रदेश नं ५ को नेपालगञ्जमा क्षेत्रीय सैनिक अस्पताल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको सुनाउनुभयो । साथै प्रदेश नं १ को इटहरी, प्रदेश नं ४ को पोखरामा पनि क्षेत्रीय अस्पताल निर्माण गर्ने कार्य भइरहेको र आवश्यकता परेमा यहाँ पनि सैनिक अस्पताल निर्माण गर्न सकिने सुनाउनुभयो ।
सम्मेलनमा तीन हजार ७२३ भूपू सैनिक र बहालवाला गरी चार हजार सहभागी भएका थिए । सम्मेलनका अवसर पारेर यही माघ १८ गतेदेखि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार ९५४ बिरामीले उपचार गराएका थिए ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता