
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुहुँदै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १९ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्वीर – रोशन सापकोटा, रासस
भारतका विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले मैत्रिपूर्ण भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा विदेशमन्त्री स्वराजले नेपालले नयाँ संविधानअनुसार स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै यसले नेपालमा लोकतन्त्र संस्थागत होस् भनी शुभकामना दिएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताउनुभयो ।
मुलुकको विकास र स्थायित्वमा प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा शुक्रबार भेटवार्ता गर्दै । तस्वीर – प्रदीपराज वन्त, रासस
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएकी भारतको बाह्य मामिलामन्त्री स्वराजसँग आज भएको भेटमा उहाँले भन्नुभयो – ‘नेपालको विकास र स्थायित्व आफ्ना पहिलो प्राथमिकता रहेको छ ।’
निर्वाचनपछिको वातावरण तथा सरकार गठनबारे पनि आफूहरुबीच छलफल भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना भएको दोहोरयाउँदै मन्त्री स्वराजले त्यसमा भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले संघीय र प्रादेशिक संसद्मा वाम गठबन्धनलाई बहुमत प्राप्त भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
दुईदिने नेपाल भ्रमणका लागि बिहीबार यहाँ आइपुग्नुभएकी विदेशमन्त्री स्वराजले बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । स्वराजसँग बिहीबार राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु र आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा