जेलबाट भागेका टीके प्रहरी इन्काउन्टरमा घाइते

चितवन- डिल्लीबजार कारागारबाट फरार भएका अभियुक्त टीका थापामगर ‘टीके’ लाई शनिबार साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ ।

निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार, माघ ४ गते डिल्लीबजार कारागारबाट फरार भएका रामेछाप दोरम्बाका २९ वर्षीय टीका थापामगर ‘टिके’ लाई पक्राउ गरिएको हो ।

ना४७प ५०५२ नं को पल्सर मोटरसाइकलमा आउँदै गरेका उनी र अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि फायरिङ गर्दा प्रहरीले छ राउण्ड जवाफी फायरिङ गरेको थियो ।

थापाका अनुसार मोटरसाइकलमा पछाडि बस्ने व्यक्ति भागेका छन् भने चलाउने थापामगर पक्राउ परेका हुन् । थापामगरको हात र तिघ्रामा गोली लागेको उनले बताए । उनको चितवन मेडिकल कलेज भरतपुरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

फरार अभियुक्त आउँदै गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको अपराध महाशाखा र जिल्लाको टोलीसँग साँझ ५.१० बजे मुठभेड भएको थापाले बताए । उनको साथबाट एक थान कटुवा पेस्तोल र खुकुरी बरामद गरिएको छ । निज लुटपाट र चोरी डकैतीका दर्जनौं मुद्दामा कारागार परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री