काठमाडौँ, १३ माघ – संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनलाई व्यवस्थित तुल्याउन सजिलो होस् भनेर अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेतका विषय समेटिएको दिग्दर्शन नै बनाएर पठाएको छ ।
विधि र प्रक्रियाका हिसाबमा प्रदेश सञ्चालनमा कुनै कमजोरी नहोस् भनेर अन्तरिम कार्य विधि समेटिएको दिग्दर्शन नै बनाएर पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
‘प्रदेशसभा संरचना हाम्रो मुलुकमा नितान्त नौलो अभ्यास भएको हुँदा पहिलो बैठक र यसले गर्ने निर्णय आगामी दिनका लागि नजिरका रुपमा हेरिने हुँदा संघीय संसद् सचिवालयले पनि यो विषयलाई गम्भीरताका साथ लिएको छ’– उहाँले भन्नुभयो । प्रदेशको व्यवस्थापिका एक सदनात्मक हुनेछ जसलाई प्रदेशसभा भनिनेछ ।
प्रदेशसभाका ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएको घोषणासँगै सातवटै प्रदेशसभा गठन भइसकेको छ । प्रदेशसभाको गठनसँगै प्रदेशसभाका सदस्यले शपथसमेत लिई सक्नुभएको छ ।
प्रदेशमा कायम रहेको जनसंख्या र भूगोल आदिका कारण प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यको संख्या भने फरकफरक रहेको छ ।
बैठक सञ्चालनको विधि र प्रक्रियासहितको अन्तरिम कार्यविधिको मस्यौदालाई प्रदेशसभाको पहिलो बैठकले अनुमोदन गर्ने छ । उक्त अन्तरिम कार्यविधिले शुरुवातका दुई महिनासम्म कार्य सञ्चालन गर्न निकै सघाउ पुग्ने प्रवक्ता डा गौतम बताउनुहुन्छ ।
धेरैजसो प्रदेशसभाको बैठक आह्वान भए पनि सभाहल र जनशक्तिको भने अझै व्यवस्थापन हुन सकेको छैन । सभा सञ्चालनका लागि विशेषज्ञ जनशक्ति तथा रेकर्डिङ र ध्वनि नियन्त्रणजस्ता अत्याधुनिक प्रविधियुक्त कक्षको आवश्यकता पर्दछ ।
निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखबाट प्रदेशसभाका बैठक आह्वान भएका हुन् ।
संघीय संसद् सचिवालले प्रदेशसभा विधि र प्रक्रियाअनुरुप सञ्चालन गर्न सभामुख, प्रदेशसभा सचिव, सत्तापक्ष, सरकारका मन्त्री र प्रतिपक्षका लागि तयार गरिएको कुर्सी व्यवस्थापन ढाँचा ‘ले-आउट’ लगायतका विषयमा एकरुपता कायम होस् भन्नका लागि सहसचिवको नेतृत्वमा अन्य प्राविधिक कर्मचारीलाई प्रशिक्षण दिएर खटाइसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखबाट बैठकको आह्वान गर्दा संविधान सम्मत होस् भन्नका लागि संविधानको धारा वा उपधारा उल्लेख गर्नुपर्ने तथा सभामुखको चयन, सरकार गठनजस्ता विषयमा पनि विधि, प्रक्रिया र सुझबुझका साथ अघि बढ्दा मात्र फलदायी हुन सक्ने विज्ञको भनाइ छ ।
प्रदेशसभाका बैठक कति अनुसाशित र मर्यादित होला भन्ने विषय अहिले सबैको चासो बन्न पुगेको छ । प्रदेशसभाको पहिलो बैठकको मुख्य कार्यसूची भनेको अन्तरिम कार्यविधि अनुमोदन र सभामुखको निर्वाचनको मिति तोक्ने नै हुनुपर्दछ– प्रवक्ता गौतम भन्नुहुन्छ ।
प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।
सभामुखको निर्वाचन हुनअघि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने छ । ज्येष्ठ सदस्यका अध्यक्षतामा बस्ने परामर्श समिति र अन्य बैठकले आगामी दिनको कार्यसूची तय गर्ने छ ।
संघीय संसद्को जस्तै, प्रदेशसभाको पहिलो बैठकको प्रारम्भमा राष्ट्रिय धुन प्रस्तुत हुनका साथै मुलुक र जनताका खातिर राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादातप्राप्त शहीदको सम्मानमा मौन धारणपछि मात्रै अन्य कार्यसूचीमा प्रवेश हुनेछ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान