शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १४:११ | UK Time: 09:26

विभिन्न जिल्लामा हिमपात, जनजीवन कष्टकर

रासस
२०७४ माघ १० गते २२:४७

दोलखाको उच्च हिमाली क्षेत्रमा परेको हिमपात । दोलखाका कालिञ्चोक, गौरीशंकर, शैलुङ्ग, खरिढुंगा च्योर्दुङलगायतका क्षेत्र भारी हिमपातले सेताम्मै भएका छन । तस्वीर – दीपशंकर चौलागाई, दोलखा, रासस

गोरखा, १० माघ – गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ ।

मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ ।

‘हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ’, उहाँले भन्नुभयो, ‘हिउँ परिरहेको छ । एक फिट जति हिउँ जमिसक्यो ।’ यो वर्ष पहिलो पटक आज हिमपात भएको हो । टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही भने खुशी पनि छन् ।

गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्प प्रभावित त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण शुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका छन् । लाप्राकीहरु अधिकांश भने पुरानै गाउँमा उनीहरुले मर्मत गरेकै घरमा बसेका छन् । पुरानो गाउँमा पनि हिमपात भएको स्थानीयवासी तुले गुरुङले बताउनुभयो ।

हिमपातपछि बारपाक–लाप्राक कच्ची सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि यो सडकमा ट्र्याक्टर, बोलेरो जिप गुड्न सक्दैन । हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ । केहीले हिउँ तताएर पानी पिउने गर्छन् । घाम लागेपछि मात्रै मुलको पानी बग्छ । टहरोभित्र आगो तापेर भूकम्प प्रभावितहरु बसेका छन् ।

बैतडीको खोडपे बजारमा बुधवार बिहान परेको हिमपात । हिमपातले चिसो बढेपछि जनजीवनमा कठिनाइ भएको छ । तस्वीर – विनोद सिंह विष्ट, बैतडी, रासस

रसुवा – बिहानैदेखि परेको पानीसँगै जिल्लाका उच्च हिमाली भागमा हिमपात शुरु भएको छ ।

चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार त्यस क्षेत्रका साथै गोसाइँकुण्ड, लाङटाङ, नाकथली लगायतका स्थानमा हिमपात भइरहको छ ।

गत वर्ष भने फागुनमा मात्र हिमपात भएको र यस वर्ष माघको दोस्रो साताबाटै हिमपात र पानी परेपछि हिउँदे बाली राम्रो हुनेमा स्थानीयवासी उत्साहित भएका छन् ।

हुम्ला – गएरातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ ।

जिल्लाको सिमीकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाका साथै रुघाखोकी, निमोनियाँका बिरामी चिसोबाट थप मर्कामा परेका छन् ।

भारी हिमपातसँगै लिली, मुचु, फुङगाल, हेक्पा, स्याडामा खर्कमा राखिएका चौँरी, झोवालाई घर गोठमा ल्याइएको छ । जिल्लामा हिमपात भएपछि स्थानीय किसान भने हर्षित भएका छन्, अहिलेको हिमपातले स्याउ लगायतका बालीनालीलाई सकारात्मक प्रभाव पर्ने कृषिविद्हरुले जनाएका छन् ।

हिमपातका कारण राजमार्ग अवरुद्ध

हेटौँडा, १० माघ – त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा आज दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ ।

अहिले पनि सो स्थानमा हिउँ परिरहेको र अहिले बाटोमा दुई फिट हिउँ जमेकाले हेटौंडाबाट काठमाडौ आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौंडाबाट प्रविधिज्ञसहित नून र बालुवा त्यतसर्फ पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

मौसममा सुधार आए राति ११ बजेसम्म यातायात सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक