राष्ट्रियसभा निर्वाचनका लागि क कसले गरे मनोनयनपत्र दर्ता ?

राष्ट्रिय सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्न पोखरास्थित प्रदेश नं ४ को निर्वाचन अधिकृतको कार्यालयमा बुधबार पुगेका काँग्रेस नेता सुरेन्द पाण्डे लगायत । तस्बिर- वासुदेव पौडेल, पोखरा, रासस

राष्ट्रियसभाका लागि प्रदेश नं १ बाट १२ जनाको मनोनयन दर्ता

विराटनगर, १० माघ – यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं १ मा आज अपराह्न ४ बजेसम्म तीन पार्टीबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ ।

दर्ता गर्ने उम्मेदवारमा वाम गठबन्धनबाट महिला दुई, खुल्ला तीन, दलित एक र अल्पसंख्यकबाट एक गरी सात जना छन् ।

यस्तै, नेपाली काँग्रेसबाट महिला एक, खुल्ला एक, दलित एक र अल्पसंख्यकबाट एक गरी जम्मा चारजनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा एकजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश–१ मा मनोनयन दर्ता गर्न नेपाली कांग्रेसका उम्मेदवार बुधबार विराटनगरस्थित वीरेन्द्र सभागृहतर्फ जाँदै । तस्वीर – मनोज दाहाल, विराटनगर, रासस

नेकपा (माओवादी केन्द्र) बाट महिला सदस्यमा विना पोखरेल (मोरङ), नेकपा (एमाले)बाट महिला सदस्य नैनकला ओझा (मोरङ), खुल्लाबाट एमालेका हरिचरण शिवाकोटी (झापा), पर्शुराम मेघी गुरुङ (संखुवासभा), खड्गबहादुर बस्नेत (मोरङ) र अल्पसंख्यकमा अगम वान्तवा (इलाम) उम्मेदवार बन्नुभएको छ ।

कांग्रेसबाट खुल्लामा रमेशजंग रायमाझी (मोरङ), महिलामा सरिता प्रसाईं (झापा), दलितबाट विनकुमार विश्वकर्मा (झापा) र अल्पसंख्यकबाट महेश जाजुले सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी परेको छ ।

महिला सदस्यमा माओवादी केन्द्रका विना पोखरेल, एमालेका नैनकला ओझा र कांग्रेसका सरिता प्रसाईंको मात्र उम्मेदवारी परेकाले तीनैजना निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुले माघ १५ गते दावी विरोधपछि प्रमाणपत्र पाउनुहुने छ ।

ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार प्रदेश–३ बाट मनोनयन दर्ता गर्दै नेपाली काँग्रेसका नेताहरु । तस्बिर – प्रदीपराज वन्त, रासस

प्रदेश २ मा नौजनाको उम्मेदवारी

जनकपुरधाम, १० माघ – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फ नेपाली कांग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले)का सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महिला सदस्यतर्फ कांग्रेसका मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा (माओवादी केन्द्र) का शशिकला दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । दलिततर्फ संघीय समाजवादी फोरम नेपालका रामपृत पासवानले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेश नं २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका २७२ गरी ३७९ जना मतदाता छन् ।

प्रदेश नं ४ मा १२ जनाको उम्मेदवारी

पोखरा, १० माघ – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ४ मा आज चार वटा राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रियसभाका लागि एउटा प्रदेशबाट आठ जना निर्वाचित हुने व्यवस्थाअनुसार नेकपा (एमाले) नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबाट १२ जनाको उम्मेदवारी परेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश नं ४ का लागि राष्ट्रियसभा सदस्यमा नेकपा एमालेबाट रामबहादुर थापा (अपांग) शान्ति अधिकारी जिसी (महिला), गणेश तिमल्सिना (खुला) र दीपा गुरुङ (महिला)ले उम्मेदवारी दिनुभएको छ ।

नेपाली काँग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित) र प्रकाश पन्थ (अपांग)ले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट दीनानाथ शर्मा (खुला) र खीमकुमार विक (दलित) उम्मेदवारी दिनुभएको छ भने राष्ट्रिय जनमोर्चाका तर्फबाट मीना पुन (महिला) र कृष्णप्रसाद शर्मा अधिकारी (खुला)ले उम्मेदवारी दिनुभयो ।

प्रदेश नं ४ मा राष्ट्रियसभा सदस्यमा मतदान गर्नेको संख्या २३० जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश ५ का लागि ११ जनाको उम्मेदवारी

तुलसीपुर, दाङ, १० माघ – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ५ बाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दाङको घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा (एमाले)बाट चार, नेपाली काँग्रेसबाट चार, नेकपा (माओवादी केन्द्र) बाट दुई र राष्ट्रिय जनमोर्चाबाट एक गरी ११ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमालेबाट खुल्लातर्फ रुपन्देहीका खिमलाल भट्टराई, महिलातर्फ दाङकी कोमल ओली र रोल्पाकी मीना बुढा तथा दलिततर्फ पश्चिम नवलपरासीका रामलखन चमारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

काँग्रेसबाट खुल्लातर्फ रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय, महिलामा दाङका अनिता देवकोटा, दलितमा बाँकेका मैकुलाल वाल्मीकी र अपाङ्गमा रुकुम पूर्वका लुटबहादुर खत्रीले मनोनयन दर्ता गराउनुभएको छ । माओवादी केन्द्रबाट खुल्लामा अर्घाखाँचीका चन्द्रबहादुर खड्का र अपाङ्गबाट रोल्पाका राजकुमार कुँवरले उम्मेदवारी दर्ता गराउनुभएको छ भने राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपालीले खुल्लामा दाङबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सो प्रदेशबाट खुल्लातर्फ तीन, महिलातर्फ तीन, दलित र अपाङ्गतर्फ एक÷एक गरी आठ जना राष्ट्रिय सभासदस्यमा निर्वाचित हुनेछन् ।

प्रदेश नं ६ मा १२ को उम्मेदवारी

सुर्खेत, १० माघ – राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ ।

यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट चार, नेकपा (एमाले) बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार दलित सदस्यतर्फ दुई, महिला सदस्यतर्फ चार, अपाङ्ग÷अल्पसंख्यकतर्फ दुई र अन्यमा चार जनाको उम्मेदवारी परेको छ ।

काँग्रेसबाट दलिततर्फ सल्यानका ७० वर्षीय मित्रलाल सार्की, महिलातर्फ मुगुकी सूर्यदेवी मल्ल, खुल्लातर्फ कालीकोटका ७२ वर्षीय विष्णुबहादुर शाही र अपाङ्गतर्फ पश्चिम रुकुमका ६८ वर्षीय गोपालप्रसाद शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेबाट दलिततर्फ कालीकोटका ५५ वर्षीय नरपति लुवार, हुम्लाकी कविता बोगटी र सुर्खेतकी नन्दा चपाई, खुल्लातर्फ जाजरकोटका भैरवसुन्दर श्रेष्ठ र पश्चिम रुकुमका ठगेन्द्रप्रकाश पुरीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै माओवादी केन्द्रबाट महिलातर्फ मुगुकी युटुन तामाङ, खुल्लातर्फ जाजरकोटका कालीबहादुर मल्ल र अपाङ्ग-अल्पसंख्यकमा कालीकोटका जीवन बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रियसभामा ६ नं प्रदेशबाट महिला तीन, अपाङ्ग-अल्पसंख्यक एक, दलितबाट एक र अन्यबाट तीन जना निर्वाचित हुनेछन् ।

वारेसमार्फत उम्मेदवारी दर्ता 
माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा सिफारिश हुनुभएकी मुगुकी तामाङले हेलिकोप्टर नपाउँदा वारेसमार्फत उम्मेदवारी दिनुभएको छ ।

खराब मौसमका कारण हेलिकोप्टर नउडेपछि उहाँले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । तामाङले माओवादी केन्द्रका केन्द्रीय सदस्य मुगुका कालीबहादुर रावललाई वारेस राखेर उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले र माओवादी केन्द्रले भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रको सहमतिअनुसार एमालेले पाँच र माओवादी केन्द्रले तीन उम्मेदवारलाई मैदानमा उतारेको छ ।

यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ६ का नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्य गरी १९८ मतदाता रहेका छन् ।

प्रदेश ७ मा १० जनाको उम्मेदवारी, छ जना निर्विरोध

धनगढी, १० माघ – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसंख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा र नेपाली काँग्रेसका छत्रराज जोशी, दलिततर्फ नेकपा (एमाले)का चक्रबहादुर स्नेही र काँग्रेसका शेरीराम पार्कीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसैगरी खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी, महिलातर्फ एमालेकी इन्दु कडरिया र कमलाकुमारी ओली, काँग्रेसकी तारादेवी भट्टले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख नन्दीराज ओझाले जानकारी दिनुभयो ।

खुल्ला र महिलातर्फ तीन-तीन जनाको उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुने देखिएको छ । यद्यपिको यसको आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।

यसैगरी एक-एक जना निर्वाचित हुने अल्पसंख्यक वा अपाङ्ग र दलिततर्फ दुई-दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ सदस्य निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री