कसले छान्दैछ माओवादी केन्द्रका राष्ट्रियसभाका उम्मेदवार ?

काठमाडौं–नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले राष्ट्रिसभाका उम्मेदवार छान्ने जिम्मेवारी तीन शीर्ष नेतालाई दिएको छ । सोमबार प्रदेश इञ्चार्जसहित बसेको उच्च नेतृत्वको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई उम्मेदवार छान्ने जिम्मेवारी दिएको हो ।

राष्ट्रिसभा निर्वाचनमा पनि नेकपा एमालेसँग तालमेल गरेको माओवादी केन्द्रले १४ सिट पाएको छ । दुई दलले जित्ने निश्चित ठानिएका ४३ सिटमा भागबण्डा गरेका हुन् । जसमा एमालेले २९ सिट पाएको छ ।

केही सिटमा भने अन्य दललाई दिने तयारी पनि गठबन्धनको छ । माओवादीले राष्ट्रिसभाका उम्मेदवार मंगलबार तय गर्ने सम्भावना छ ।

माओवादीले राष्ट्रियसभामा पार्टीका प्रभावशाली नेता रामबहादुर थापा बादललाई पनि पठाउने तयारी गरेको माओवादी स्रोतले जनाएको छ । यद्यपी यसको टुंगो मंगलबारको बैठकले नै लगाउने बताइएको छ ।

नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रलाई छोड्न तयार भएमा बादल त्यहाँ जाने लगभग निश्चित देखिएको छ । यसअघि एमालेले चितवन २ मा प्रतिनिधिसभामा बादललाई छाड्न अस्वीकार गरेपछि उनी प्रतिनिधिसभाको निर्वाचन लडेका थिएनन् ।

बादल राष्ट्रियसभामा गएमा उनी ३ नं. प्रदेशको खुल्लाबाट निर्वाचन लड्ने छन् । माओवादीको भागमा तीन नं. प्रदेशबाट राष्ट्रिसभामा एउटा खुल्ला सिट पनि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री