नेपालमा नयां विमान भित्रयाउने होड

काठमाडौँ, ६ माघ – मुलुकभित्र सुविधा सम्पन्न विमानस्थल अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्रयाउने होडबाजीमा लागेका छन् ।

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भित्रयाउन लागिपरेका हुन् ।

नेपालमा प्रतिष्ठित बुद्ध एयर, यति एयर, श्रीलगायतका निजी वायु सेवा प्रदायक मात्रै नभई भर्खर सञ्चालनमा आउन लागेका कम्पनीसमेत सेवा विस्तारका लागि नयाँ विमान खरिद गर्ने होडबाजीमा लागेका हुन् ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो र उडान तथा अवतरणमा पालो कुर्नुपर्ने अवस्था छ । स्वदेशी मात्रै नभई विदेशी वायु सेवा प्रदायकसमेत उच्च ट्राफिक हुने दिउँसोको समयमा प्रतिक्षा गर्नुपर्ने भए पनि सेवा विस्तारका लागि भन्दै निजी वायु सेवा प्रदायक नयाँ विमान भित्रयाउन लागेका हुन् ।

विशेष गरी नयाँ ल्याउन लागिएका विमान धेरै यात्रु हुने क्षेत्र (ट्रङक रुट) नै केन्द्रित गरिँदा भने दुर्गम क्षेत्रमा सेवा पुग्न सकेको छैन । वायु सेवा प्रदायक कम्पनीका अनुसार ट्रङक रुटमा नै बढी प्रतिस्पर्धा हुने गरेको छ ।

बुद्ध एयरसँग हाल नौ वटा जहाज सञ्चालनमा छन् । अर्को एक जहाज केही समयभित्रै नेपाल भित्रने छ । आगामी दश वर्षमा ३२० सिरिजमा २० नयाँ विमान भित्रयाउने तयारीमा बुद्ध एयर छ ।

यस्तै यति एयरले हाल ३० सिट क्षमताका सात वटा जेटस्ट्रिम ४१ ट्विन टर्बो प्रोप विमान सञ्चालन गरिरहेको छ । यतिले निकट भविष्यमा नै एटिआर विमान भित्रयाउने तयारीमा रहेको छ ।

एकै पटक तीन वटा क्यानेडियन कम्पनीले उत्पादन गरेका जहाज ल्याएर प्रतिस्पर्धामा उत्रिएको श्री एयरले थप जहाज ल्याउने तयारी गरेको छ । सो कम्पनीका ५० सिट क्षमताका दुई वटा र ७८ सिटको एक जहाजले हाल सेवा दिइरहेको छ । श्री एयरले पनि नयाँ एउटा जहाज थप गर्ने तयारी गरेको छ । सो कम्पनीको आठ वटा हेलिकप्टर सञ्चालनमा छन् । श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले थप जहाज ल्याउने तयारीमा आफूहरु रहेको जानकारी दिनुभयो ।

यस्तै सञ्चालनमा रहेको सौर्य एयर पनि नयाँ विमान ल्याउने तयारीमा छ । सो कम्पनीका दुई वटा विमान सञ्चालनमा छन् । यस्तै सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान ब्रजाचार्यले पनि हेलिकप्टर भित्रयाउने तयारीमा रहेको जानकारी दिनुभयो । सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर सञ्चालनमा छन् । थप एक कैलाश हेलिकप्टर ल्याउने तयारीमा कम्पनी रहेको ब्रजाचार्यको भनाइ छ ।

नेपाल वायु सेवा निगम पनि तीन चिनियाँ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । निगमको दुई ठूला जहाज एकाध महिनाभित्र नेपाल भित्र्नेछ । अन्तर्राष्ट्रिय उडानका लागि ती जहाज ल्याउन लागिएको हो । निगमले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको ऋणमा जहाज खरिद गर्न लागेको हो ।

यस्तै चीनबाट थप दुई नयाँ विमान आउने तयारीमा रहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस्तै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले थप जहाज भित्र्याउन लागेको छ । हाल तीन वटा जहाजमार्फत सेवा दिइरहेको छ ।

नेपाल वायुयान सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्की एकपछि अर्को गर्दै वायु सेवा प्रदायक कम्पनीले जहाज थप्दै गएको सन्दर्भमा विमानस्थल साँघुरो भएको र विस्तारमा सोचे जति प्रगति नभएको गुनासो गर्नुहुन्छ ।

निगमका पूर्व नायब महाप्रबन्धक राजु केसीले नेपाली स्वयंले नै विमान ल्याउने र उडानमा प्रतिस्पर्धा गर्नु एकदमै राम्रो भएको बताउनुहुन्छ । निर्माणाधीन विमानस्थलबाट सेवा दिन पनि निजी वायु सेवा प्रदायकले जहाज थप्नु जरुरी रहेको भन्दै उहाँले पूर्वाधार थप गर्नुपर्ने र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमान ल्याउने वायु सेवा प्रदायकलाई काठमाडौँ उपत्यका बाहिर पार्किङ गर्न निर्देशन दिइसकेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, पोखरामा जहाज पार्किङ गर्न प्राधिकरणले निजी सेवा प्रदायकलाई भनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ नौ वटा मात्रै जहाज पार्किङ गर्न सकिन्छ । त्यस्तै आन्तरिकतर्फ १७ वटा पार्किङ गर्न सकिने भए पनि जहाज थपिँदै जाँदा २८ वटासम्म पार्किङ हुने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पर्यटक बढाउन पनि नयाँ जहाज जरुरी भए पनि पूर्वाधारको अभावमा समस्या परेको बताउनुहुन्छ । उहाँका अनुसार विमानस्थलको क्षमताका कारण थप जहाज धान्न गाह्रो पर्ने र अब थपिने जहाज अन्य स्थानमा पार्किङ गर्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री