अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित – प्रचण्ड

शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैठौं म्याग्दी महोत्सवको उद्घाटनका लागि आउनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गरिँदै । तस्बिर- सन्तोष गौतम, म्याग्दी, रासस

म्याग्दी, २८ पुस – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आजदेखि बेनीमा शुरु भएको छैटौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नं प्रदेश स्तरीय कृषि, औद्योगिक व्यापारिक मेलाको आज उद्घाटन गर्नुहुँदै प्रचण्डले यस्तो बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले मुलुकमा राजनीतिक अधिकारको लडाइँ सकिएको बताउँदै अबको यात्रा मुलुकलाई विकास र आर्थिक समृद्धिमार्फत विकसित मुलुकको रुपमा चिनाउनेतर्फ अगाडि बढ्ने बताउनुभयो । उहाँले अब बन्ने वाम गठबन्धनको सरकारले हरेक जिल्लामा रहेका सम्भावनाको पहिचान गरी ती क्षेत्रको उजागरमार्फत विकास र समृद्धिलाई नेतृत्व गर्ने बताउनुभयो ।

‘सरकार त वाम गठबन्धनकै बन्छ, त्यसैले हामी अहिले त्यसै बसेका छैनौँ, कुन जिल्लामा के-कस्ता क्षेत्रमा सम्भावना छन्, ती कुराका बारेमा योजना बनाउन लागिपरेका छौँ, अबको सरकारले सम्भावनायुक्त क्षेत्रको पहिचान गरी विकासलाई प्राथमिकतामा राख्छ’ – अध्यक्ष प्रचण्डले भन्नुभयो ।

विगतको १० वर्षको राजनीतिक यात्रामा आफूले निजी क्षेत्रलाई समेत मुलुकको विकासको साझेदारीको रुपमा लिने नीतिलाई नीतिगत रुपमै कार्यान्वयन गर्न विशेष पहल गरेको बताउँदै अध्यक्ष प्रचण्डले अब मुलुक निर्माणको जिम्मेवारी सरकार र निजी क्षेत्र दुवैको हुने बताउनुभयो ।

म्याग्दीमा जलस्रोत, पर्यटन, जडीबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै उहाँले यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धतासमेत जनाउनुभयो ।

महोत्सवको पूर्व सन्ध्यामा बेनीमा विभिन्न जातजाति र संघ संस्थाले पहिचान झल्कने झाँकीसहितको रयालीले बजार परिक्रमा गरेका छन् । पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अवसरमा खुला दोहोरी गीत, लोकनृत्य, रत्यौली गीत प्रतियोगितासहित महिला पुरुष भलिबल, बास्केटबललगायतका प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री