माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने एमाले निर्णय

भक्तपुर, २४ पुस – नेकपा (एमाले) ले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने निर्णय गरेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटीको ९४औँ बैठकले छिटो पार्टी एकताको कामलाई टुंग्याउने निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पद बाँडफाँट र वैचारिक मतभेद टुंगो लगाउन आवश्यक परे कार्यदलसमेत बनाएर अघि बढ्ने र छिट्टै पार्टी एकता अगाडि बढाउने निर्णय गरेको बैठकपछि उहाँले जानकारी दिनुभयो ।

पार्टी प्रचार एवं प्रकाशन विभाग प्रमुख भट्टराईले भन्नुभयो- ‘दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरणको छलफल सकारात्मक रुपमा अघि बढेको छ र पार्टी एकताले गति लिएको छ । भोलि (मंगलबार) पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताका निम्ति आवश्यक पर्ने सैद्धान्तिक, वैचारिक र संगठनात्मक आधारलगायत यसको व्यवस्थापनको सन्दर्भमा प्रस्ताव र एकता संयोजन समितिले कार्यदल बनाउने र त्यसले प्रस्तावसमेत बनाएर पदलगायत आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ ।’

मंगलबार बालकोटमा बस्ने पार्टी एकता संयोजन समिति बैठकले माओवादी केन्द्र र एमालेका तर्फबाट नेताहरु सम्मिलित कार्यदल बनाइने निर्णय गरेको एमालेले जनाएको छ । स्थायी कमिटी बैठकमा एमाले र माओवादी केन्द्रको पार्टी एकताका सन्दर्भमा पछिल्ला दिनमा भएका प्रगतिबारेमा पार्टी अध्यक्ष ओलीले बैठकसमक्ष जानकारी गराउनुभएको थियो ।

बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न ढिलाइ गरिएको र त्यसलाई आधार बनाएर नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध बनाइएको भनी असन्तुष्टि व्यक्त गर्दै ‘संविधानको अपव्याख्या गर्दै संविधानको भावना र मर्म विपरीत गएर वर्तमान सरकारले आफ्नो आयु लम्ब्याउने र नयाँ सरकार गठनको ढोका थुन्न खोजेको’ ठहर गरेको छ । बैठकले यसलाई जनताको भावना र मतमाथिको खेलबाडको संज्ञा दिएको छ । एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा राष्ट्रियसभा निर्वाचनको मिति एक महिनाभन्दा लामो समय तोकिनुले यसलाई पुष्टि गर्ने उल्लेख छ ।

बैठकले संविधानको व्यवस्थानुसार सरकारले प्रदेशसभाको अस्थायी केन्द्र तोक्ने व्यवस्था संविधानका धारा २८८ ले व्यवस्था गरे पनि सरकारले प्रदेशका अस्थायी केन्द्र तोक्ने काम नगरी प्रदेश प्रमुख मात्रै नियुक्त गरी प्रदेशसभा सदस्यको शपथसमेत काठमाडौंमा गराउने तयारी गरेको भनी असन्तुष्टि व्यक्त गरेको छ । बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने काम संविधानको व्यवस्थाअनुसार एकसाथ अगाडि बढाउन सरकारसंग माग गर्दै निर्वाचन आयोगलाई तत्काल परिणाम सार्वजनिक गर्न र सरकारलाई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

निर्वाचनपछि सरकारलाई नियुक्ति, सरुवा–बढुवा, राज्यकोषबाट करोडौँ रकम वितरण गर्ने नीतिगत निर्णयजस्ता कार्य रोक्न आग्रह गर्दै नयाँ सरकारले यसको दायित्व नलिने निर्णय गरिएको छ ।

कारवाही माग 

यही पुस २१ गते देवदह नगरपालिकामा युवा सङ्घ नेपालका कार्यकर्ता एवं फर्निचर व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न पार्टीले सरकारसँग माग गरेको छ । त्यस्तै तराई मधेशका जनतालाई शीत लहरबाट बचाउनका लागि सरकारलाई विभिन्न उपाय अबलम्बन गर्न तथा राहत र सुविधा दिन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

मूल्य वृद्धि फिर्ता गर्न तथा निर्वाचन परिणाम घोषणा गर्न एमाले र माओवादी केन्द्र निकट युवा बिद्यार्थी संगठनले शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्दा सरकारले ज्यादती गरेको भनी भत्र्सना गर्दै घाइतेको उपचार गर्न माग गरिएको छ । अपराह्न साढे २ बजेदेखि करिब पाँच घण्टासम्म चलेको बैठकमा अधिकांश स्थायी कमिटीका नेताहरुको उपस्थिति थियो ।

एकता प्रक्रियाबारे छलफल

काठमाडौँ, २४ पुस- नेकपा(एमाले) सँगको पार्टी एकताको विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज अनौपचारिक छलफल गर्नुभएको छ ।

यही पुस १८ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको सम्पूर्ण निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको सन्दर्भमा आज नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतसँग छलफल गर्नुभएको हो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अध्यक्षले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषय मिलाउन अध्यक्ष र वरिष्ठ नेताले छलफल गर्नुभएको जानकारी दिनुभयो ।

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, नेता श्रेष्ठ र थापा सदस्य हुनुहुन्छ । केन्द्रीय कार्यालयको बैठकले एकतासम्बन्धी निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको सन्दर्भमा विभिन्न कोणबाट अनौपचारिक छलफल भएको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

मंगलबार एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ । बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको छ ।

एकता प्रक्रियालाई गति दिने सम्बन्धमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो । सोही छलफलका आधारमा आज दुवै पार्टीले आन्तरिक छलफल गर्ने र मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री