रत्ननगरमा बन्यो काठमाडौंकै झल्को दिने ‘धरहरा’

चितवनको रत्ननगरमा प्रतिकात्मक स्वरुपमा निर्माणाधीन धरहरा । यही पुस २७ बाट शुरु हुन लागेको रत्ननगर महोत्सवको मुख्य आकर्षणको रुपमा बाँसबाट बनेको धरहरा रहने आयोजकले जनाएको छ । तस्बिर- नारायण ढुंगाना, रतननगर, चितवन, रासस

रत्ननगर, चितवन, २४ पुस – गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाडौं सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ ।

दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो । यही पुस २७ देखि यहाँ शुरु हुने रत्ननगर महोत्सवका लागि आयोजकले मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरेका हुन् । महोत्सवको मुख्य आकर्षण नै धरहरा हुने भएको छ ।

रत्ननगर महोत्सव मूल आयोजक समिति संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरामा चढेर दृश्यावलोकन गर्न सक्नेगरी बाँसबाट निर्माण गरिएको बताउनुभयो । ‘यसले महोत्सवको रौनक थपेको र सर्वसाधारणका लागि मुख्य आकर्षक हुने अपेक्षा गरेका छौँ,’ उहाँले भन्नुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २७ गतेबाट महोत्सव शुरु हुँदैछ । ऐतिहासिक महत्वको धरहराको प्रतिमूर्ति आफैँमा महत्वपूर्ण रहेको महिला अधिकारीकर्मी संगीता भट्टराईले बताउनुभयो । बाँसबाट कृत्रिम धरहरा निर्माणको काम लगभग पूरा भएको छ । सो धरहरा ७५ फिट अग्लो बनाइएको छ । तीस फिट माथिसम्म चढेर वरिपरिको दृश्य अवलोकनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सात तलाको धरहरा निक्कै आकर्षक छ । बाँसलाई कपडाले बाँधेर निर्माण भएको अस्थायी धरहराको बाहिरी भाग पूरै सेतो कपडाले बेरेर दुरुस्त धरहराको रंङ दिइएको छ ।

एक पटकमा करिब ४० जना धरहरा चढ्नसक्ने छन् । महोत्सव अवलोकन गर्न आउनेलाई थप मनोरञ्जन प्रदान गर्न ऐतिहासिक महत्व बोकेको धरहराको प्रतिमूर्ति निर्माण गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले उल्लेख गर्नुभयो । यही पुस २७ देखि माघ ७ गतेसम्म सञ्चालन हुन लागेको नवौं संस्करणको रत्ननगर महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने ४५० भन्दा बढी स्टल रहनेछ ।

महोत्सवमा कृषि प्रदर्शनी तथा प्रतियोगिता, च्याउ, मह, तरकारी, थोपा सिँचाइ प्रविधि केरा, माछा, च्याउ, पोल्ट्री, फलफूलको परिसर रहनेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीमा बंगलादेश, पाकिस्तान र भारतको समेत सहभगिता रहने बताइएको छ ।

महोत्सव अवधिभर सौराहासहित चितवनका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनका कार्यक्रम रहनेछन् । महोत्सवमा फुड फेस्टिभलको समेत आयोजना हुनेछ । महोत्सवमा सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री