आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: १६:३३ | UK Time: 10:48

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

रासस
२०७४ पुष २२ गते १०:५२

काठमाडौँ, २२ पुस – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइको २४३ औं हप्तामा आज कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका शुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालिम गरिरहनुभएका १०० प्रशिक्षार्थी लगायतको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिका लगायतको संस्थागत सहभागिता रहेको थियो । सो अवसरमा घरदैलो जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको सफाइ अभियन्ता एवम् अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।

सफाइमा ३० संस्थाका ८०० भन्दा बढी अभियन्ता सहभागी थिए । नेपाल आयल निगमले ३९ औं वार्षिकोत्सवका अवसरमा आज वाग्मती सफाइमा सहभागिता जनाएको थियो । गुह्येश्वरमाथिको वाग्मती सफाइको २०४ हप्ताका अवसरमा आज वाग्मती स्तम्भ, गोठाटार पुल र हनुमानघाट क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै नदी किनारमा रोपिएको बगैँचामा गोडमेल गरी पानी हालिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँललगायत अभियन्ताको सक्रियता थियो । विसं २०७० फागुन ३ गतेदेखि गुह्येश्वरमाथिको वाग्मती सफाइ अभियान शुरु भएको थियो । वाग्मती किनारकै मानिसलाई सफाइमा सक्रिय गराउने उद्देश्यअनुरुप अभियान सञ्चालन भइरहेको छ ।

रुद्रमती सफाइको १९८ औं हप्तामा आज आनन्द भैरव मन्दिर ज्ञानेश्वर–शहीदमार्ग–कालोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह लगायत संघसंस्थाका २०० भन्दा बढी अभियन्ताको सक्रियता थियो ।

विष्णुमती नदी सफाइको १७१औं हप्तामा आज टोखा नगरपालिका–११ बानियाँटारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिनुभयो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

कपास पसल सञ्चान गर्दै आएका एक व्यक्तिले फोहर विष्णुमतीमा फाल्दा फाल्दै रंगेहात पक्राउ गरेकाले टोखा नगरपालिका–११ ले सफाइका लागि आवश्यक पर्ने १५ थान डोको, तीन-तीन बट्टा मास्क र पञ्जा जरिवाना गरिएको थियो । नदी किनारमा फोहर फाल्ने एक जनालाई आज कारबाही गरिएको विष्णुमती सफाइ अभियानले जनाएको छ ।

चक्रपथ सफाइको ३९ औं हप्तामा आज धूम्बाराही चोकदेखि सुकेधारा चोकसम्म सफा गरेर १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा खेम्स क्लिनिङका अध्यक्ष खेम शर्मा लगायतको सहभागिता थियो । सफाइमा १७ वर्षीय केपी खनाल ‘म बदलिन्छु मेरो देश बदलिन्छ’ सफाइ काष्ठमण्डप भन्ने नारा बोकी दाङदेखि काठमाडौँ आएर सफाइमा सहभागिता जनाउनुभएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र सर्वसाधारण गरी ५३० जना अभियन्ताको उपस्थिति थियो । मीनभवन आलोकनगर सफाइको ३९ औं हप्तामा आज यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिनुभयो ।

चक्रपथ वाफल खण्डको २१ औं हप्ताको सफाइका क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको सहकार्यमा अनधिकृत रुपमा सडक किनारमा निर्माण गरिएका बालुवा, रड, डण्डीलगायत निर्माण सामग्रीका पसल हटाइयो । यस क्षेत्रको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता ताराबहादुर कुँवरले बताउनुभयो । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि हाल देशका ४५ भन्दा बढी स्थानमा जागरण फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक