सन् २०३० सम्म विकसित मुलुक बनाउन ऊर्जा क्षेत्रको विकास महत्वपूर्ण

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको ‘हिमालयन हाइड्रो एक्पो २०१८’ को उद्घाटन समारोहमा । तस्बिर ः तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, २१ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको आधार जलविद्युत् क्षेत्र भएकाले यसमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्पो २०१८’ को आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत् उत्पादन गर्ने मुलुक भएर पनि नेपाल पछाडि पर्नाका कारण खोजी गर्दै लगानी बढाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

ऊर्जा क्षेत्रको विकासबाट मात्रै मुलुकको समग्र आर्थिक क्षेत्रको विकास हुने भएकाले नयाँ प्रविधिको अन्वेषण गर्न, लगानी बढाउन र नीतिगत रुपमा कमीकमजोरी रहेको भए त्यसलाई सुधार गरेर जानसमेत राष्ट्रपति भण्डारीले अनुरोध गर्नुभयो ।

अपार जलस्रोतको सदुपयोग गर्नु सबैको दायित्व रहेकामा जोड दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘ठूलो सम्भावना बोकेको यो क्षेत्रलाई प्रविधि, विधि र कार्यक्रममा समेटेर अगाडि बढाउनु पर्दछ । सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्दछ ।’

परम्परागत ऊर्जाको स्रोतमा कमी हुँदै आएको र महँगो समेत पर्ने भएकाले हरित ऊर्जाको उत्पादनमा जोड दिनुपर्ने राष्ट्रपतिको कथन थियो । विद्युत् आयात गर्ने प्रवृत्तिको अन्त्य गरेर आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले भरपर्दो ऊर्जाको आपूर्ति, प्रयोग तथा व्यवस्थापन गरेर मुलुकलाई सबल तथा सक्षम बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

फरक एक प्रसंगमा राष्ट्रपति भण्डारीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान कार्यान्वयन भएर राजनीतिक स्थिरताको चरणमा मुलुक अगाडि बढेकाले आर्थिक समृद्धिको मार्ग प्रशस्त भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले सन् २०३० सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऊर्जा क्षेत्रको विकास नै महत्वपूर्ण शर्त भएको बताउनुभयो ।

व्यापार घाटा कम गर्ने उपयुक्त माध्यम र विधि भनेकै ऊर्जा क्षेत्र भएकाले यसमा लगानी बढाउन, प्रविधिको खोजी गर्न निजी क्षेत्र लागिपर्ने उहाँको जोड थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अब बन्ने सरकारले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्दै ऊर्जा क्षेत्रको विकासमा लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा क्षेत्रको विकासका लागि नीति निर्माता, प्रविधिको हस्तान्तरण, लगानीका स्रोतको पहिचान तथा लगानीमैत्री वातावरणका लागि अवसर जुटाउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा चीन, भारत, ब्राजिल, स्विडेन, इटली, दक्षिण कोरिया, नर्वेलगायतका मुलुकमा उत्पादन भएका जलविद्युत् क्षेत्रका नवीनतम प्रविधि तथा उपकरण राखिएका छन् । प्रदर्शनीमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री