पार्टी एकतालाई सार्थक निष्कर्षमा पुरयाउने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकमा अध्यक्ष ‘प्रचण्ड’, रामबहादुर थापा र अमिक शेरचन । तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँ, १८ पुस – नेकपा (माओवादी केन्द्र) ले नेकपा(एमाले) सँगको पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुरयाउन प्रभावकारी पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठनलगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

‘एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा देखिएको समस्याले छलफल लम्बिएको हो, पार्टी एकता प्रक्रिया अगाडि जान्छ, पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन, तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनुहुनेछ’– बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भन्नुभयो ।

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनील मानन्धर रहनुभएको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहनुभएको छ ।

त्यस्तै बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीका तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री