एकतालाई सार्थक निष्कर्ष दिन दाहालमाथि दवाव

प्रचण्ड

काठमाडौँ, ४ पुस – युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुरयाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।

आज अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बधाई तथा धन्यवाद ज्ञापनका लागि पुगेका दुवै युवा संगठनको संयुक्त टोलीले राष्ट्रिय आवश्यकता र जनचाहनाका आधारमा निर्माण भएको वाम गठबन्धनले करिब करिब दुई तिहाइ स्थानमा विजय हासिल गरेकाले त्यसलाई सार्थक निष्कर्षमा पुरयाउनसमेत पार्टी एकतालाई टुंगो लगाउनुपर्नेमा जोड दिएको हो ।

‘एकतामा नै बल हुन्छ’ भन्ने मान्यताका आधारमा नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको भन्दै युवा संगठनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नेतृत्व लिनसमेत अध्यक्ष दाहाललाई आग्रह गरेका हुन् ।

नेपाली जनताले जनमतबाट वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै उनीहरुले एकताका लागि सार्थक संवाद गर्न र त्यसलाई निष्कर्षमा पुरयाउन अनुरोध गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

युवा संगठनको बधाई ग्रहण गर्दै अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले त्यसलाई संस्थागत गर्ने र त्यसको प्रयास भइरहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘वाम गठबन्धनका उम्मेदवारलाई जनताले दुई तिहाइ बहुमतको नजिक पुरयाएका छन् । गठबन्धनका लागि एमाले अध्यक्ष केपी ओली र मैले गरेको सार्थक प्रयास अनुमोदित भएको छ । हामी त्यसलाई शीघ्र निष्कर्षमा पुरयाउँछौँ ।’

जनताले दिएको अभिमत ऐतिहासिकरुपमा जनताको सम्पत्ति बनिसकेको चर्चा गर्दै उहाँले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुरयाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

जनताले शान्ति, राजनीतिक स्थिरता, आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई मत दिएकाले जनताको अपेक्षालाई पूरा गरेर जान आफूहरुले कुनै पनि कसर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

देशलाई समृद्ध र सबल बनाएर युवा नेतृत्वलाई देशको जिम्मा दिने मनसायमा आफूहरु रहेको भन्दै अध्यक्ष दाहालले एकाध वर्षमा नेपालको मुहार फेरिने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘मुलुकलाई समृद्ध बनाएर समाजवादी नेपाल युवाको जिम्मा लगाउने सोचमा हामी छौँ । त्यसका लागि युवाले एकपटक पहल गर्न जरुरी छ ।’

युवा संघ नेपालका अध्यक्ष राजीव पहाडीले जनताको माग र भावनालाई सम्बोधन गर्दै सार्थक एकताको पहल गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।

वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन युवा संगठनले खेलेको भूमिकालाई राष्ट्र निर्माणमा प्रयोग गर्न आफूहरु सधैँ इच्छुक रहेको वाइसिएलका अध्यक्ष सापकोटाको भनाइ थियो ।

यस्तै, आजै विभिन्न बुद्धिजीवी तथा पेशाकर्मीले समेत वाम गठबन्धनलाई विजयी गराएको र जनताको अपेक्षा पूरा गरेको भन्दै अध्यक्ष दाहालको सम्मान गरेका थिए ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री