चीनमा नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता

काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर चीनको छन्दु सहरमा आयोजना भएको छ दिवसीय नेपाल सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी अवलोकन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल । तस्वीर सौजन्य – साइनो नेपाल मिडिया सोसाइटी रासस

काठमाडौँ, ३ पुस – पर्यटन प्रवर्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनको छन्दुमा शुरु भएको छ ।

काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्दु सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिवसीय नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि शुरु गरिएको हो ।

दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तीमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा नेपालका धार्मिक, सांस्कृतिक, पर्यटन, कला संस्कृतिसँग जोडिएका तस्बीर प्रदर्शनीमा राखिएको छ ।

प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रवर्धनका क्षेत्रमा छन्दु सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका मिडिया विज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारणा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको मौलिक संस्कृति, कला, रहन–सहन र पर्यटकीयस्थलबारे चिनियाँ नागरिकलाई जानकारी गराउन र नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या बढाउन फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

नेपाल पर्यटन बोर्ड, बेइजिंगस्थित नेपाली राजदूतावास, सिछुवान प्रान्तीय र छन्दु नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लब लगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।

सन् २०१८ मा धेरैभन्दा धेरै चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरुमार्फत सन् २०१९ मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन सकिने सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटनका अवसरमा सिछुवान प्रान्त र छन्दु नगरपालिकाका उच्च पदस्थ सरकारी अधिकारी, स्थानीय पर्यटन व्यवसायी, फोटाग्राफर क्लबका अधिकारी, पत्रकार, छन्दुमा अध्ययनरत नेपाली विद्यार्थीलगायत १५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको जनाइएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री