ललितपुर, २५ मंसिर – निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आउनुभएको छ ।
आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुग्नुभएका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गर्नुभएको छ ।
सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव संसद दर्ता गराएपछि सिलवाल ‘सेलिब्रेटी’ बन्नुभएको थियो । प्रहरीमा रहँदा पनि बफादारिताका साथ काम गर्ने छवि बनाएका सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा (एमाले) प्रवेश गरी क्षेत्र नं १ को उम्मेदवार बन्नुभएको थियो । वर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणालाई छ हजार २२२ मतान्तरले पराजित गरेपछि सिलवालको प्रत्यक्ष राजनीतिक यात्रा सहज देखिएको छ ।
सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याउनुभयो । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो ।
दोस्रो संविधानसभा निर्वाचन २०७० राणाले एमालेका पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेललाई पराजित गर्नुभएको थियो ।
साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुनुहुन्थ्यो । अहिले उहाँको नयाँ परिचयसँगै दैनिकी नै एकाएक परिवर्तन भएको छ ।
एमाले र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवारका रुपमा उहाँ एक महिनादेखि मत माग्न जनताका घरआँगनमा पुग्नुभयो भने अहिले बधाई दिन र मतदातालाई धन्यवाद दिन व्यस्त हुनुहुन्छ ।
चुनावी प्रचारका क्रममा उहाँ जनताका घरआँगन र खेतबारीमा पुग्नुभयो । मंसिर महिना भएकाले बाली भित्र्याउन व्यस्त किसानको खेतबारीमा नै पुगेर उहाँले आफ्नो योजना सुनाउनुभएको थियो ।
एमालेबाट उम्मेदवार हुनु मतदाताका लागि नौलो भए पनि पूर्व प्रहरीका रुपमा उहाँलाई धेरैले चिन्दथे । राष्ट्रियरुपमा चर्चित व्यक्ति भएकाले उहाँलाई निर्वाचन जित्न सहज भएको निर्वाचन पहिले धेरैले अनुमान गरेका थिए । उहाँका उम्मेदवारी पार्टीको स्थायी कमिटीले लगाउँदा क्षेत्रीय कमिटीले स्वागत गर्नु उहाँका लागि जित्न सहज भइदियो ।
नवनिर्वाचित सांसद सिलवाल ५४ वर्ष पहिले जिल्लाको गोदावारीमा जन्मनुभएको हो । उहाँले प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरी २९ वर्षसम्म कार्यरत रहनुभयो । सिलवालले प्रहरी सेवाबाट गत भदौ २७ मा राजीनामा दिनुभएको थियो । उहाँ २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गर्नुभएको थियो ।
असोज २२ गते उहाँको राजीनामा स्वीकृत भएको थियो । त्यसको दुई दिन पहिले नै उहाँलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउनुभएको थियो । सिलवाल जितेमा भावी गृहमन्त्री हुन सक्ने आँकलन गरिएकाले पनि उहाँको विजय निश्चित भएको मानिएको छ ।
सिलवाल नेपाली साहित्यमा नव सिलवालका रुपमा परिचित हुनुहुन्छ । कथा, कविता, निबन्धलगायतका विधामा उहाँले कलम चलाउँदै आउनुभएको छ ।
विकासका दृष्टिले पछाडि पारिएको आफ्नो क्षेत्रको पूर्वाधारहरुको विकासमा लाग्ने उहाँले बताउँदै आउनुभएको छ । राजधानीसँगैको जिल्ला भएर पनि सडक, खानेपानी, सञ्चारको विकास यस क्षेत्रमा हुन सकेको छैन । आगामी पाँच वर्षमा पूर्वाधारको विकास, कृषिमा प्रविधि जोड्ने, शिक्षा र स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने उहाँको प्राथमिकता छन् ।
गाउँमा नै रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जानेलाई रोक्ने र गएकालाई फर्काउनु उहाँको चुनावी एजेण्डा रहेका छन् । आफ्ना प्रतिबद्धता पूरा गर्ने र निर्वाचनका प्रतिस्पर्धीसँग मिलेर जाने उहाँले निर्वाचित भएपछि बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामी मिलेर अघि बढ्दा मात्रै यस क्षेत्रमा विकासको लहर ल्याउन सकिन्छ ।’
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन