काँग्रेसका वरिष्ठ नेता पौडेल र वामदेव गौतम पराजित

वरिष्ठ नेता रामचन्द्र पौडेल

दमौली, तनहुँ, २४ मंसिर –  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १ बाट पराजित हुनुभएको छ ।

पौडेल छ हजार ८०२ मतान्तरले पराजित हुनुभएको छ । सो क्षेत्रबाट वाम गठबन्धनबाट नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठ (किसान) ३४ हजार ४९२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

काँग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६९० मत प्राप्त गर्नु भएको थियो । तनहुँबाट विसं २०४८, २०५१, २०५६, २०६४ र २०७० मा विजयी हुनुभएका पौडेल यसपटकको निर्वाचनमा भने भारी मतान्तरले पराजित हुनुभएको हो ।

सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नं (क) मा वाम गठबन्धनबाट एमालेका रामबहादुर गुरुङ १८ हजार २६५ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोविन्द भट्टराईले १६ हजार ८७८ मत पाउनुभएको थियो ।

प्रदेशसभा क्षेत्र (ख) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले १५ हजार ३६० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रघुनाथ पौडैलले ११ हजार ८८१ मत प्राप्त गर्नुभएको थियो ।

बर्दियामा काँग्रेसका गौतम विजयी, एमाले नेता बामदेव पराजित

नेपालगन्ज, २४ मंसिर – बर्दिया क्षेत्र नं १ मा नेपाली काँग्रेसका सञ्जय गौतम ४४ हजार ८२९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गर्नुभएको छ । विजयी गौतमलाई मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री