काठमाडौँ–६ मा काँग्रेस नेता एवं रक्षामन्त्री प्रधान विजयी

Bhimsendas Pradhan

भीमसेनदास प्रधान

काठमाडौँ, २३ मंसिर – काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका भीमसेनदास प्रधान विजयी हुनुभएको छ ।

रक्षामन्त्रीसमेत रहनुभएका प्रधान १६ हजार ७८५ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो । प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले हराउनुभएको हो ।

सुवेदीले १५ हजार ४८५ मत प्राप्त गर्नुभयो । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले चार हजार २२५ मत पाउनुभएको छ । यो क्षेत्रमा कूल ५८ हजार १८६ मतदाता रहेकामा ४२ हजार ३९९ अर्थात् ७२.८६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । यसमध्ये ३९ हजार २६८ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणनाको तयारी भइरहेको छ ।

क्षेत्र नं १ को प्रदेश (क) मा काँग्रेस विजयी 

यसैगरी, काठमाडौँ क्षेत्र नं १ को प्रदेशसभा (क) मा नेपाली काँग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले छ हजार २३१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनकी विष्णुकुमारी भुसालले चार हजार ६१८ मत ल्याउनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले बताउनुभयो । तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले चार हजार ३४३ मत पाउनुभयो ।

क्षेत्र नं १ को प्रदेश (ख) मा वाम गठबन्धन विजयी 

प्रदेश (ख) मा भने वाम गठबन्धनका गणेशप्रसाद दुलाल विजयी हुनुभयो । उहाँले चार हजार २४२ मत प्राप्त गर्नुभयो । उहाँ एमाले उम्मेदवार हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरजचन्द्र लामिछानेले चार हजार २२३ मत पाउनुभयो । तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीका पुरुषोत्तमप्रसाद ढकालले दुई हजार ७२५ मत ल्याउनुभयो ।

क्षेत्र नं ४ को प्रदेश (क) मा काँग्रेस विजयी 
काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा (क) मा पनि काँग्रेसका पुराना नेता नरोत्तम वैद्य विजयी हुनुभएको छ । वैद्यले आठ हजार ७१९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका निर्मल कुइँकेलले सात हजार ७९४ मत प्राप्त गर्नुभयो ।

कुइँकेल दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ मा काँग्रेस नेता गगनकुमार थापाबाट पराजित हुनुभएको थियो । यो प्रदेशसभामा तेस्रो स्थान विवेकशील साझा पार्टी नै भयो । विवेकशीलका दिपेश श्रेष्ठ वैद्यले तीन हजार ५१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्रदेशसभा (ख) को भने मतगणना भइरहेको उहाँले बताउनुभयो ।

भोजपुरमा माओवादी केन्द्रका किराँती विजयी

भोजपुर, २३ मंसिर – प्रतिनिधिसभा सदस्यमा भोजपुरको वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँती ३४ हजार ३९४ मत ल्याई विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, प्रदेश नं. १ तर्फ वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार राईले १९ हजार २९७ मत ल्याएर विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर काङमाङ राईले ११ हजार ५४१ मत प्राप्त गर्नुभयो । भोजपुरमा कुल ६५ हजार मत खसेको थियो ।

धनुषा ३ (ख) मा राजपा विजयी

जनकपुरधाम, २३ मंसिर – धनुषा क्षेत्र नं ३ (ख) मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार परमेश्वर साह सुडी १५ हजार २९३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामप्रसाद साहले १० हजार ४७२ मत प्राप्त गर्नु भएको छ ।

वाम गठबन्धनका उम्मेदवार कार्की विजयी

काठमाडौँ, २३ मंसिर – काठमाडौँ प्रदेशसभा ४ को (ख) मा वाम गठबन्धनका उम्मेदवार कुसुमकुमार कार्कीले जित हासिल गर्नुभएको छ ।
उहाँले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका साधुराम खड्कालाई पछाडि पारेर जित हासिल गर्नुभएको हो । कार्कीले १२ हजार ३०० मत ल्याउँदा खड्काले नौ हजार ३३४ मत ल्याउनुभएको हो ।

क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका थापा विजयी

भक्तपुर, २३ मंसिर – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार शशिजंग थापा भारी मतअन्तरले विजयी हुनुभएको छ ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका थापाले १९ हजार ५१५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेपाली काँग्रेसका अंगद खड्काले १० हजार ४०० मत पछाडि परेर नौ हजार ११५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईंले दुई हजार ६५४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेशसभा (ख) मध्यपुरमा एमालेका राजेन्द्रमान श्रेष्ठले १२ हजार २५४ मतका साथ अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका गणेशमान चक्रधरले नौ हजार ५९३ मत नेमकिपाका प्रेमजंग थापा श्रेष्ठले एक हजार ६९६ मत ल्याउनुभएको छ ।

प्रतिनिधिसभातर्फ भने क्षेत्र वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले ३० हजार ३८२ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका पूर्वसभामुख तथा नेपाली काँग्रेसका दमननाथ ढुंगानाले १६ हजार १९ मतले पछ्याउनुभएको छ ।

त्यसैगरि नेमकिपाका अनुराधा थापामगरले चार हजार १२७ मत ल्याएर तेस्रो दलकारुपमा पछ्याउनुभएको छ ।

यता भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पाँच हजार ९५२ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका बाबुराजा जोशीले पाँच हजार ७७३ मत र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मिलन सुवालले पाँच हजार १३५ मतले पछ्याउनुभएको छ ।

त्यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ (क) मा मा एमालेका हरिशरण लामिछानेले चार हजार ६१८ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाली काँग्रेसका जीवन खत्री तीन हजार २३३ र नेमकिपाका नीरज लबजुले ६७३ मतका साथ पछ्याउनुभएको छ ।

उदयपुरबाट प्रदेशसभामा दुई वाम उम्मेदवार विजयी

गाईघाट, उदयपुर, २३ मंसिर – उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ र ‘ख’ को सदस्यमा वाम गठबन्धनका तर्फबाट कला घले र नारायण बुर्जा मगरले विजय हासिल गर्नुभएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट वाम गठबन्धनका नारायण बुर्जा मगरले ९ हजार ७७० मत ल्याएर भर्खरै विजयी हुनुभएको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भेषराज मगरले पाँच हजार ९३४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, क्षेत्र नम्बर २ को प्रदेशसभा अन्तर्गत क्षेत्र ‘क’ बाट वाम गठबन्धनकी उम्मेदवार कला घलेले १३ हजार ४५९ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकुमार खत्रीले ८ हजार ९७६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्माले बताउनुभएको छ ।

कास्की निर्वाचन क्षेत्र नं १ को (क) मा कोइराला (ख) मा गुरुङ

पोखरा, २३ मंसिर – कास्की क्षेत्र नं १ प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार (माओवादी केन्द्र)का नेता दीपक कोइराला १८ हजार ७२७ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन परियारले १५ हजार ८१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उक्त क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनकै उम्मेदवार एमाले नेता मनबहादुर गुरुङ १७ हजार २४९ मतसहित विजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार कृष्णबहादुर केसीले १३ हजार १०२ मत प्राप्त गर्नुभयो ।

मकवानपुर १ को (ख) मा वाम, २ को (क) मा वाम र (ख) मा लोकतान्त्रिक गठबन्धन विजयी

हेटौँडा, २३ मंसिर – मकवानपुर क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का डोरमणि पौडेल २० हजार ७०३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका अशोक शाक्यले १६ हजार ५८१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै क्षेत्र नं २ को (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तानले २७ हजार १३२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका यति सापकोटाले १४ हजार १३६ मत प्राप्त गर्नुभयो ।

यसैगरी क्षेत्र नं २ को (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका इन्द्रबहादुर बानियाँले १९ हजार २४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट एमालेका राजाराम स्याङताङले १७ हजार ८३४ मत प्राप्त गर्नुभयो ।

बाँके १ (क) मा माओवादीका केसी विजयी

खजुरा, बाँके, २३ मंसिर – बाँके क्षेत्र नं १ को (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णा केसी १३ हजार ४३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १० हजार २४० मत ल्याउनुभएको छ ।

दाङ क्षेत्र नं १ (ख) मा एमालेका शर्मा विजयी

तुलसीपुर, दाङ, २३ मंसिर – दाङ क्षेत्र नं १ को प्रदेश (ख) मा वाम गठबन्धनका तर्फबाट (एमाले)का रेवतीरमण शर्मा १९ हजार ३५४ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जानकीलाल बस्नेतले १२ हजार ७५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । कूल ५२ हजार ७०० मत रहेकामा यस क्षेत्रमा ३६ हजार १४२ मत खसेको थियो ।

कास्की २ मा एमालेका अधिकारी

पोखरा, २३ मंसिर – कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गर्नुभयो । जम्मा ७० हजार ६५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । नेता अधिकारीको यो विजय तेस्रोपटक हो ।

उहाँले २०६४ मा माओवादी नेता झलकपाणि तिवारीलाई पराजित गर्नुभएको थियो भने दोस्रोपटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजित गर्नुभएको थियो । विजयी भएसँगै नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अबको पाँच वर्ष समृद्धि र विकासलाई प्राथमिकतामा राखी काम गर्ने उल्लेख गर्नुभयो ।

सिरहा ३ (क) मा माओवादी नेता यादव निर्वाचित

लहान, २३ मंसिर – प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको छ ।

अहिले केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका सिंहले १० हजार ९३३ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।

खोटाङमा एमालेका भट्टराई विजयी

खोटाङ, २३ मंसिर – प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का विशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गर्नुभयो । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद्समेत रहनुभएका भट्टराई एमाले बैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ चैत २२ गते जन्मनुभएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौँबाट राजनीति शुरु गर्नुभएको थियो । २०३९ सालमा सोही विद्यालयमा स्ववियु सदस्य निर्वाचित हुनुभएका भट्टराईले काठमाडौँको रत्नराज्य क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

धनकुटा (ख) मा एमालेका पराजुली विजयी

धनकुटा, २३ मंसिर – प्रदेशसभा ख मा वाम गठबन्धनबाट नेकपा एमालेका इन्द्रमणी पराजुली २० हजार ६५१ मत प्राप्त गरी विजयी बन्नु भएको छ । उहाँको प्रतिद्वन्द्वीमा लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रहेका अर्जुन थापाले आठ हजार २३१ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताउनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री