काँग्रेसले जिते जनता मालिक हुनेछन् – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौंको क्षेत्र नं ५ मा आयोजित चुनावी सभामा सम्बोधन गर्नुहुँदै । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौँ, १३ मंसिर – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको छ ।

चुनाव प्रचारप्रसार मूल समिति र नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ द्वारा यहाँ आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि पनि मंसिर २१ गते हुने निर्वाचनमा काँग्रेसलाई मत दिन आममतदातासँग अपिल गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो – ‘नेपाली काँग्रेसले सात सालमा निरंकुश राणा शासन हटाएर मुलुकमा लोकतन्त्र स्थापना गरेको हो । पञ्चायतलाई हटाएर काँग्रेस आफैँले मुलुकको नेतृत्व गरेको हो र नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकमा समावेशी संविधान आएको हो । काँग्रेसले जितेको खण्डमा मात्र जनता मालिक हुनेछन् ।’

काँग्रेसको शासन आएमा मात्रै समृद्धिका लागि स्वदेश र विदेशी लगानी बढाउन सकिने उहाँको भनाइ थियो ।

पार्टी महामन्त्री डा शशांक कोइरालाले काँग्रेससँग विकासको प्रस्ट ‘भिजन’ भएको र नेतृत्व गर्न दिइए १० वर्षभित्र मुलुकको मुहार फेर्ने बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार बन्नुभएका डा प्रकाशशरण महतले क्षेत्र नं ५ को समृद्धि, विकास र रोजगारी सिर्जनाका लागि रूख चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अनुरोध गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ‘प्रजातान्त्रिक’ का अध्यक्ष पशुपति शम्शेर राणाले स्थिर लोकतान्त्रिक सरकार बनाउन लोकतान्त्रिक गठबन्धन मुलुकलाई आवश्यक रहेको बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ५ को प्रदेश ‘क’ मा रमा गुरागाईं र ‘ख’ मा रमेश खड्का उम्मेदवार हुनुहुन्छ । सोही अवसरमा नेका प्रचारप्रसार मूल समितिका संयोजक बालकृष्ण खाँणले जनताले विकासमुखी सही उम्मेदवार छनोट गर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो ।

कम्युनिष्टहरुले नेता देखेर जनता डराउने शासन ल्याउन खोजे- प्रधानमन्त्री

नवलपरासी, १३ मंसिर – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाउनुभएको छ ।

आज नवलपरासीको पहाडी क्षेत्रको बुलिङटारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनतासँग शासन बदल्ने की राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ’, कम्युनिष्टसँग जनता हिजो पनि डराउँथे, भोलि पनि डराउने दिन ल्याउन लागेका छन् ।’

वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने बताउँदै उहाँले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर गर्नुभयो । ‘यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमत संग्रह हो’– वाम गठबन्धनको आलोचना गर्दै उहाँले भन्नुभयो, ‘यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टले संविधान खारेज गरेर तानशाही लाद्न खोजेका छन् ।’

वाम गठबन्धन दिएको समृद्धिको नारा फोस्रो भएको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘कम्युनिष्टले कहाँबाट समृद्धि ल्याउँछन्, उनीहरु आए स्वदेशी-विदेशी कुनै पनि लगानी नेपालमा थपिदैन, विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।’

काँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै उहाँले मुलुकलाई काँग्रेस नेतृत्वको सरकारले मात्र धनी बनाउने दाबी गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल भएको साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने ‘कन्टेनर’ बनाउन लागेको आरोप लगाउनुभयो । वाम गठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेशी व्यवस्थाको अन्त्य हुने बताउँदै उहाँले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दाबी गर्नुभयो ।

नेता पौडेलले कालीगण्डकी करिडोर निर्माणका लागि काँग्रेसको महत्वपूर्ण भूमिका रहेको र प्रदेश नं ४ लाई समृद्ध र सबल बनाउन नवलपुरको ठूलो योगदान रहने हुँदा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

महामन्त्री डा शशांक कोइरालाले काँग्रेसलाई जिताएमा नेपालीको भाग्यरेखा परिवर्तन हुने उद्घोष गर्नुभयो ।

उद्योगपति विनोद चौधरीले आफू राजनीति गर्न नभई बलियो अर्थतन्त्रको आधारशीला तयार पार्न काँग्रेसमा आबद्ध भएको बताउनुभयो । काँग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिका कारण देशले फड्को मारेको दृष्टान्त दिँदै उहाँले रोजगारी सिर्जना र आर्थिक उन्नति काँग्रेसको एजेण्डा हो भन्नुभयो ।

काँग्रेस निर्वाचन परिचालन कमिटीका संयोजक बालकृष्ण खाँणले काँग्रेसलाई सिध्याउन खोज्नेहरु आफै सकिएको दृष्टान्त दिँदै अब एमालेको सकिने पालो आएको उद्घोष गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री