प्रधानमन्त्री देउवाद्वारा विनोद चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १३ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको परिवारजनामा समवेदना प्रकट गर्नु भएको छ । साथै उहाँले घट्नाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको नेपाली काँग्रेसको चुनावी सभालाई लक्ष्य गरी गराइएको बम विस्फोटनमा परी घाइते हुनुभएका २३ वर्षीय म्यादी प्रहरी चौधरीको उपचारका क्रममा आज बाँकेको कोहलपुरमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाले संवैधानिक संक्रमणको अन्त्य गर्दै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्ने सिलसिलामा हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षाको लागि खटिइ महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सम्पूर्ण सुरक्षाकर्मीलगायत म्यादी प्रहरी प्रशंसाका पात्र भएको उल्लेख गर्नुभएको छ ।

‘यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । यस प्रकारका निर्वाचन विरोधी कुनै पनि गतिविधिले निर्वाचनप्रति नेपाली नागरिकले देखाएको उत्साह र नागरिकको मताधिकारलाई कुण्ठित पार्न सक्दैन’ विज्ञप्तिमा उल्लेख छ ।

उहाँले कायरतापूर्ण तवरले बिना हतियार सुरक्षार्थ उभिएका म्यादी प्रहरी र नागरिकमाथि बम प्रहार गरिएको यस घटनालगायत निर्वाचन लक्षित सम्पूर्ण हिंसात्मक क्रियाकलापको घोर भत्सना गर्नुभएको छ ।

सरकारले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आम नागरिकलाई निर्वाचनमा निर्धक्क भएर लाग्न हार्दिक आह्वान गर्नुभएको छ ।

काँग्रेसद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

नेपाली काँग्रेसले दाङको तुलसीपुरमा काँग्रेसद्वारा आयोजित आमसभास्थल नजिक मंगलबार बम विस्फोटनमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । काँग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका १८ वर्षीय चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । अन्य घाइतेको कोहलपुर मेडिकल कलेज र राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको काँग्रेसले जनाएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा मङ्गलबार अपराह्न बम विस्फोट भएको थियो । सो पार्टीले लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित तवरबाट बारम्बार यस्ता घटना दोहरिनु दुःखद भएको जनाएको छ ।

‘काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन्, काँग्रेसका नेता एवं कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको यस्तो आक्रमणप्रति घोर निन्दा र भत्सना गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ ।

यस्ता घटनाले शान्तिपूर्ण एवं निर्बाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कारको उपहास भएको काँग्रेसको ठहर छ । काँग्रेसले यस प्रकारका अवाञ्छित क्रियाकलाप पुनः नदोहोरयाउन तथा घटनामा संलग्नलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री