लन्डन । ‘ओ केटाकेटी हो, हिम्मत गर हिम्मत । कम अन गाइज, यति जाडो त सहनुपर्यो नि ?’ मिलन चाम्स आफ्नो निर्देशकीय अधिकार प्रयोग गर्दै अलिक चर्किएर बोलिरहेका थिए । कोरियोग्राफर कविराज गहतराज पनि सान्त्वना दिँदै कलाकारलाई सिकाउन अघि बढे । कठयांग्रिने चिसोका कारण ‘टेक’ चाहिँ बढेको बढयै थियो, कलाकार लुगलुग काम्दै ‘ओके’ पर्खिरहेका थिए ।
‘लिलीबिली’ को सुटिङ स्पट । लोकेसन स्कटल्यान्डको एडिनबरा टाउन सेन्टर । टाइटल गीतको सुटिङ सेटमा यस्तै हालतमा थिए अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङ । केटाले केटीलाई फकाउने गीतको दृश्य हुँदै गर्दा वेदर फोरकास्टले तापक्रम माइनस देखाइरहेको थियो । पाँच वटा ज्याकेट लगाउँदा पनि कठयांग्रिने जाडोमा प्रदीप र जसिता एकसरो लुगा लगाएर क्यामेरा फेस गर्दै थिए । तातो पानी र कफीको सहाराले पनि जाडो थामिएन ।
‘जसिता त झन्डै कोल्याप्स भएर ९९९ (इमर्जेन्सी नम्बर) डायल गर्नुपरेन,’ मिलन जिस्काउँदै थिए, ‘तर धन्न भगवान्, काम सम्पन्न भयो ।’
स्थानीय काउन्सिलको अनुमति र १० मिलियन पाउन्डको पब्लिक लायबिलिटी इन्सुरेन्स (पीएलआई) गरेर कलाकार/प्राविधिकले एडिनबराको मध्य सहरमा सुटिङ गर्न छ घण्टाजति खर्चिए । ‘खिचिन्जेल अप्ठेरो भए पनि नयाँ अनुभवले उत्साहित छु’, प्रदीप भन्दै थिए ।
जसिताले पनि अविस्मरणीय अनुभव भइरहेको सुनाइन् । मिलनका अनुसार यो समूहमा केही दिनपछि नै अब प्रियंका कार्की थपिनेछिन् । प्रियंका र प्रदीपको जोडी ‘लिलीबिली’ बाटै पहिलो पटक देखिन लागेको हो ।
पछिल्लो समय मुलुकबाहिर नेपाली फिल्मको बजार मात्रै हैन, यतैको कथा र लोकेसन टिप्ने प्रचलन पनि बढदै गइरहेको छ । केही सातायता ‘लिलीबिली’ फिल्मको युनिट पनि यतै छ । टाइटिल गीत सुरु गरेको पाँचौं दिन थियो सोमबार । ‘गीतकै लागि मंगलबार फेरि तीन घण्टा ड्राइभ गरेर अर्को लोकेसनमा जानुपर्ने छ,’ सुटिङ प्याकअपअघि निर्देशक चाम्स योजना सुनाउँदै थिए, ‘राति ३ बजे उठेर अर्को लोकेसन जाने योजना छ । भोलि त हिउँमा पो खिच्नुपर्नेछ ।’ यसका लागि बिहान तीन बजे नै उठेर मेकअप गर्नुपर्ने झन्झटलाई सजिलै स्विकारिन् मेकअप आर्टिस्ट बिना राईले । बेलायती र नेपाली ‘क्रु’ चार बजेसम्म सुटिङ स्पट पुर्याइसक्ने मिलनको योजनालाई टिमको सपोर्ट नहुने कुरै भएन ।
करिब ९० प्रतिशत सुटिङ बेलायतमा गर्ने योजनाअनुरूप दोस्रो सातासम्म ३० प्रतिशत सुटिङ सकिइसकेको निर्देशक मिलनले बताए । ‘पोखरा, जोमसोम पुगेर सुटिङ गर्न त गार्हो छ,’ उनले विदेशमा फिल्म सुटिङको अप्ठेरो पाटो सुनाए, ‘लोकेसन, स्थानीय निकायसँग अनुमति, इन्सुरेन्स, प्राविधिक, सामग्रीजस्ता व्यवस्थापनमा धेरै झन्झटहरू आइपर्ने रहेछ ।’ तर, यो चुनौतीलाई भने आफूले अवसरका रूपमा लिएको मिलनले बताए ।
नेपाली फिल्म उद्योगमै पहिलोपटक यति धेरै चुनौती खेपेर फिल्म सुटिङ गरिएको उनको दाबी छ । ‘तैपनि उत्साहित छौं । बलिउड जस्तो कुनै दिन २ सय जनाको जम्बो टिम विदेशमा लगेर छायांकन गर्ने सपना त बाँकी नै छ,’ मिलनले भने, ‘नेपाली फिल्म अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयास थालनी गरेका छौं, यसमा फिल्मकर्मी र शुभचिन्तकको साथ खाँचो छ ।’
उनले नेपाली फिल्म उद्योगका ‘केही मान्छेहरू’ अहिले ‘लिलीबिली’ निर्माणविरुद्ध लागिरहेको गुनासो गर्दै त्यस्तो कदमले हतोत्साही बनाउने बताए । ‘कहिले छायांकनमा समस्या आयो भनिदिने, कहिले प्रियंकाको त आमाको रोल रहेछ भन्दै हल्ला गर्ने साथीहरू देख्दा दु:ख लागेको छ,’ उनले दु:खेसो पोखे ।
निर्देशक मिलनको स्थायी बसोबास बेलायतमै छ । उनले नै निर्देशन गरेको ‘हयाप्पी डेज’ फिल्मको सुटिङ पनि करिब ९० प्रतिशत बेलायतमै गरिएको थियो । बेलायतमा रेड कार्पेट प्रिमियर सो भइसकेको उक्त फिल्म नेपालमा माघ १२ देखि प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने